रौतहटमा क्रिकेटको उभार : पूर्वाधार अभावबीच चन्द्रपुर क्रिकेट लिगले जगायो आशा

पुस ९, २०८२ |राजेश्वर पाण्डे
रौतहटमा क्रिकेटको उभार : पूर्वाधार अभावबीच चन्द्रपुर क्रिकेट लिगले जगायो आशा

रौतहट । मधेश प्रदेश क्रिकेट खेलाडी उत्पादनको लागि उर्वर भूमि हो । 

खेलकुद विकासका लागि सरकारी लगानीका प्रयासहरू त्यति सार्थक नभइरहेका बेला रौतहटमा चलिरहेको चन्द्रपुर क्रिकेट लिगमा राष्ट्रियस्तरका खेलाडीहरूको उपस्थितिले स्थानीय खेलाडीको हौसला बढाएको छ । तर रौतहटमा खेल गतिविधि बढे पनि खेल पूर्वाधार निर्माणमा भने नगन्य मात्रै काम भएको छ ।

 रौतहटको चन्द्रनिगाहपुरस्थित बेतौना खेल मैदानमा अहिले मेयर कप सिजन दुई चन्द्रपुर क्रिकेट लिग चलिरहेको छ । आठ टोली सहभागी यो लिगमा पहिलो पटक प्रदेशभन्दा बाहिरका खेलाडीको प्रदर्शन हेर्न दर्शकको घुइँचो लाग्छ । भौतिक संरचनाको अभावकाबीच क्रिकेट क्षेत्रमा युवाहरूलाई प्रोत्साहन गर्न र गुणस्तरीय खेलाडी तयार गर्न अहिलेको प्रतियोगिताले निकै सहयोग पुग्ने विश्वास छ ।

राष्ट्रिय क्रिकेट टिम र नेपाल प्रिमियर लिगजस्ता ठूला प्रतियोगिता खेलिसकेका खेलाडीहरू यो प्रतियोगिता खेल्न आएपछि स्थानीयस्तरका खेलाडीहरूमा उत्साह छाएको छ । नाम कमाएका खेलाडीहरूसँग अनुभव साझा गर्दा उनीहरूको मनोबल भने उच्च बनेको छ ।

केही वर्षयता रौतहटमा पनि क्रिकेट खेलप्रति युवाहरूको चासो बढ्दै गएको देखिन्छ । तर क्रिकेट मैदानसम्म व्यवस्थित नहुँदा यहाँ प्रतियोगिता गर्न तथा खेल अभ्यास गर्न समस्या छ । नयाा खेलाडी उत्पादन, पहिचान र खेलको विकासका लागि सम्बन्धित निकायले आवश्यक तदारूकता देखाउन जरूरी छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।