
काठमाडौं । विभागीय टोली त्रिभुवन आर्मी क्लब भारतको तलतला इन्स्टिच्युटलाई पराजित गर्दै चितवनमा जारी इन्डो-नेपाल टी-२० च्याम्पियनसिपको शीर्ष स्थानमा उक्लिएको छ ।
तृतराज दासको अलराउन्डर प्रदर्शनमा आर्मीले तलतलालाई ९ रनले पराजित गरेको हो । भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगितामा भारतीय टिमले टोलीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्यो । पहिले ब्याटिङ गरेको आर्मीले ८ विकेट गुमाएर २ सय रनको योगफल तयार पारेको थियो ।
सन्तोष कार्कीले ४६, तृतराज दासले ४३, सन्तोष यादवले ४२ र पवन कार्कीले ३१ रनको योगदान दिए । अदित्य चित्रान्सले ४ ओभरमा २२ रन खर्चिँदै ४ विकेट लिए । जवाफमा तलतला १९ दशमलब ४ ओभरमा १ सय ९१ रनमा अलआउट भयो । निखिल रावले ७७ रन बनाए पनि जित दिलाउन सकेनन् ।
अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक छँदा आदित्य पाण्डे दोस्रो बलमा नरेन साउदबाट ४७ रनमा कट एन्ड बोल्डआउट भएपछि आर्मीको जित सुनिश्चित बनेको हो । आकाश चन्दले ४ ओभरमा ३५ रन खर्चिँदै ४ विकेट लिए भने तृतराज दासले ३, नरेन साउदले २ र सन्तोष यादवले एक विकेट लिए ।
आर्मीले ४ खेलमा ३ जित निकाल्दै ६ अंक बनाएको छ । आजै भएको अर्को खेलमा भारतको दिल्ली वन्डर्सले घरेलु टोली चितवन क्रिकेट क्लवलाई ३० रनले पराजित गर्यो । दिल्ली वन्डर्सले ८ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । चितवन १५ ओभर ३ ओभरमा १ सय १२ रनमै समेटिएपछि दिल्लीले दोस्रो जित दर्ता गरेको हो ।
चितवनका लागि गौतम केसीले सर्वाधिक २५ बलमा ४० रनको योगदान दिए । दीपेश श्रेष्ठले २१, दीपेश कंडेलले १७ र रोशन झाले १३ रन बनाए ।