
काठमाडौं । आगामी माघ ४ देखि १८ गतेसम्म नेपालमा आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता आयोजना हुँदैछ ।
नेपालसहित १० राष्ट्र सहभागी हुने यो प्रतियोगिता सन् २०२६ को महिला टी-२० विश्वकपमा पुग्ने अन्तिम छनोट चरण हो । १० टोली सहभागी यस प्रतियोगिताबाट शीर्ष चार टोलीले विश्वकपको टिकट प्राप्त गर्नेछन् । नेपाल समूह 'बी'मा छ । यस समूहमा नेपालसँगै नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बावे रहेका छन् । आज हामी ग्लोबल छनोटमा नेपाल सम्मिलित समूहमा रहेका सबै ५ टिमबारे चर्चा गर्नेछौं ।
सन् २०२६ मा इंग्ल्यान्डमा हुने आईसीसी महिला टी-२० विश्वकपमा सहभागी हुने १२ मध्य ८ टोलीको टुङगो लागिसक्दा बाँकी ४ टिम माघ ४ देखि १८ गतेसम्म नेपालमा आयोजना हुने ग्लोबल छनोटबाट अघि बढ्ने छन् । ग्लोबल छनोटमा सहभागी १० टिमलाई २ समूहमा विभाजन गरिएको छ ।
समूह 'बी'अन्तर्गत नेपाल र थाइल्यान्ड एसिया क्वालिफायर हुँदै ग्लोबल छनोटमा पगेका हुन् भने जिम्बावे अफ्रिका क्वालिफायरबाट आएको टोली हो । नेदरल्यान्ड्स युरोपीयन क्वालिफायरबाट अघि बढ्दा स्कटल्यान्डले २०२४ महिला टी-२० विश्वकप खेलेका कारण सिधैं ग्लोबल छनोटमा स्थान बनाएको हो । आईसीसी महिला टी-२० को विश्व वरियतामा नेपाल समूहकै सबैभन्दा पछाडि अर्थात् २१ औँ स्थानमा छ ।
नेपालले माघ ४ गते थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरूवात गर्नेछ । यी दुई मुलुकबीच महिला टी-२० आईमा अहिलेसम्म सात खेल भएका छन्, जसअन्तर्गत सातै खेलमा नेपाल पराजित भएको छ । थाइल्यान्डले २०२० महिला टी-२० विश्वकप खेलेको थियो । जुन हालसम्मको उसको पहिलो विश्वकप हो ।
त्यसपछि पुनः विश्वकपसम्म पुग्न नसकेको थाइल्यान्ड विश्वमञ्चमा पुनरागमनको प्रयासमा छ । नेपालले भने पहिलो पटक ग्लोबल छनोट खेल्न लागेको हो । टी-२० वरियताको थाइल्यान्ड १२औं स्थानमा छ । दोस्रो खेलमा नेपालले ८ माघमा नेदरल्यान्ड्ससँग खेल्ने छ ।
नेपाल र नेदरल्यान्ड्सबीच महिला टी-२० आईमा हालसम्म तीन खेल भएका छन् । ती तीनै खेलमा नेपाल पराजित भएको छ । गत वर्ष कीर्तिपुरमा सम्पन्न महिला टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्ससँग क्रमशः १० विकेट, १५ रन र २० रनको हार बेहोरेको थियो ।
हालसम्म ४ पटक महिला विश्वकप खेले पनि डच टोलीले महिला टी-२० विश्वकप भने खेल्न सकेको छैन् । नेपाल र नेदरल्यान्ड्स दुबै पहिलो पटक टी-२० विश्वकपमा पुग्ने लक्ष्यमा छन् । नेदरल्यान्ड्स टी-२० वरियतामा नेपाल भन्दा ७ स्थान माथि रहेको छ ।नेपालले आफ्नो तेस्रो खेलमा माघ १० गते १५औं वरियताको जिम्बावेसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपाल र जिम्बावेबीच महिला टी-२० आईमा अहिलेसम्म कुनै खेल भएको छैन । दुa} टोलीले अहिलेसम्म महिला टी-२० विश्वकप पनि खेलेका छैनन् । त्यसकारण दुबै टोलीका लागि यो राम्रो मञ्च हुन सक्छ । समूहको आफ्नो अन्तिम खेलमा नेपालले १२ माघमा स्कटल्यान्डसँग खेल्ने छ ।
स्कटल्यान्ड यो समूहको सबैभन्दा उच्च वरियता प्राप्त टिम हो । उ टी-२० वरियताको ११ औँ स्थानमा रहेको छ । स्कटल्यान्ड नेपालभन्दा १० स्थान अगाडि छ । नेपाल र स्कटल्यान्डबीच सिनियर महिला टी-२०आईमा अहिलेसम्म खेल भएको छैन । यद्यपि, दुवै टोली अन्डर-१९ महिला टी-२० विश्वकपमा एकअर्कासँग खेलिसकेका छन् । स्कटल्यान्डले २०२४ महिला टी-२० विश्वकप खेलेको थियो । जुन उसको पहिलो विश्वकप सहभागिता थियो ।
हाल नेपाली महिला राष्ट्रिय टोली भारतीय प्रशिक्षक हर्षल पाठकको प्रशिक्षणमा बन्द प्रशिक्षणमा व्यस्त छ । टोलीले फिटनेस, फिल्डिङ र खेल रणनीतिमा विशेष ध्यान दिइरहेको छ । घरेलु मैदान, दर्शकको समर्थन र निरन्तर अभ्यास नेपालका लागि सकारात्मक पक्ष हुन् ।
वरियता, अनुभव र हेड-टु-हेडका आधारमा नेपाल अन्य टोलीभन्दा पछाडि देखिए पनि, घरेलु मैदानमा अनुशासित र आत्मविश्वासी प्रदर्शन गर्न सके नेपालले पहिलो पटक विश्वकपमा स्थान बनाउन सक्छ ।