निर्वाचनका लागि नयाँ दलको आक्रामक प्रचार-प्रसार सुरू

वैकल्पिक शक्तिलाई एकताका लागि आह्वान गर्दै कुलमानले गरे उज्यालो नेपाल पार्टी घोषणा
कोशीमा हर्क साम्पाङको चुनावी अभियान तिव्र
मंसिर १७, २०८२ |अञ्जना लामिछाने
निर्वाचनका लागि नयाँ दलको आक्रामक प्रचार-प्रसार सुरू

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका निर्वाचन आयोगमा दर्ता भएका १ सय २० दलमध्ये २६ दल नयाँ छन् । 

पुराना राजनीतिक दलहरू महाधिवेशनमा लागिरहेका छन् भने नयाँ दल पनि चुनावी माहोलमा होमिन थालेका छन । उनीहरू विचार मिल्ने दलहरूसँग एकतामात्रै होइन वैकल्पिक शक्तिहरू एक ठाउँमा आएर पुराना दललाई चुनौती दिने लक्ष्यमा छन् ।

निर्वाचन प्रयोजनका लागि दर्ता भएका १ सय २० दलमा २६ वटा दल जेन-जी आन्दोलनपछि दर्ता भएका नयाँ छन् । तीमध्ये केही पुराना दलसँग अलग्गिएर नयाँ बनेका पनि छन् । ती सबै दल अहिले निर्वाचनको तयारी गरिरहेका छन् । धरान उपमहानगर प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले मङ्गलबार अवधारणापत्र सार्वजनिक गरिसकेको छ भने संगठन विस्तारसँगै चुनावी अभियान पनि अघि बढाएको छ ।

त्यसैगरी मन्त्री कुलमान घिसिङको अगुवाइमा दर्ता भएको उज्यालो नेपाल पार्टीले पनि बुधबार आफ्नो दल घोषणा गरिसकेको छ । फरक क्षमता भएकाहरूदेखि अल्पसंख्यक, तेस्रो लिङ्गी तथा समलिङ्गीलगायतको सहभागितामा पहिलोपटक खोलिएको समावेशी समाजवादी पार्टी पनि चुनावी एजेन्डालाई विस्तार गरिरहेको छ । 

नुमा लिम्बु नेतृत्वको पार्टीले समानतालाई स्थापित गर्दै सिमान्तकृत व्यक्तिहरूलाई राज्यसत्तामा ल्याएर उनीहरूको समस्या समाधान गर्नेुका साथै सुशासन कायम र भ्रष्टाचार अन्त्यको एजेन्डा लिएको छ । दलित अभियन्ता खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपालले पनि चुनावलक्षित कार्यक्रम गरिरहेको छ । 

बिहीबार घोषणा सभा गरेपछि चुनावी कार्यक्रम लिएर जिल्ला जाने तयारी यो पार्टीको छ । जेन-जी आन्दोलनले बोकेको भ्रष्टाचार अन्त्य र सुशासनको भावलाई बोक्ने हाम्रो पार्टी नेपालको एजेन्डा छ । उसले अहिले उज्यालो नेपाल, रास्वपालगायतका दलसँग मिलेर जानेगरी छलफल भइरहेको बताएको छ ।

सीके राउत नेतृत्वको जनमत पार्टीबाट छुट्टिएर गठन भएको शरदसिंह यादव नेतृत्वको जनाधिकार पार्टीले पनि चुनावी कार्यक्रम अघि बढाएको छ । उसले यसअघिका मधेशकेन्द्रित दलहरूले राज्य सत्तासँगको साँठगाँठमा मधेशी जनताको मुद्दालाई दबाएको भन्दै नयाँ वैकल्पिक पार्टी बन्ने दाबी गरेको छ । शिक्षा, स्वास्थ्य र रोजगारी मुख्य एजेन्डा बनाएको यो दलले पनि विचार मिल्नेहरूसँग सहकार्य हुने बताएको छ ।

रमणकुमार कर्ण नेतृत्वको जनादेश पार्टीले पनि अहिले विचार मिल्ने दलसँग सहकार्यको छलफल अघि बढाएको छ । खासगरी जेन-जी आन्दोलनपछि दर्ता भएका नयाँ दलसँग संवाद गरिरहेको अध्यक्ष कर्णले जानकारी दिनुभयो । सुशासनकै एजेन्डा लिएर जनताकोमा जाने तयारी गरिरहेको उहाँको भनाइ छ ।

सुन्दरराम बोहोरा नेतृत्वको आवाज पार्टीले पनि अहिले विषय विज्ञता भएका व्यक्तिहरूलाई पार्टीमा समावेश गर्न खोजेको छ । जेन-जीको आवाज आफूहरूले प्रतिनिधित्व गर्ने यो पार्टीको दाबी छ । यसबाहेक अन्य दलले पनि चुनावमा उम्मेदवार चयनदेखि चुनावी एजेन्डा लिएर जनतामाझ जाने योजना बनाइरहेका छन भने केही जनतासम्मै पुग्न थालेका छन । 

जेन-जी आन्दोलनपछि गठन भएका सबै पार्टीले सुशासन कायम, भ्रष्टाचार अन्त्यदेखि स्वास्थ्य, शिक्षा र रोजगारी सृजनालाई नै प्रमुख एजेन्डा बनाएका छन् ।


Image

अञ्जना लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनकी संवाददाता हुन् ।