मधेश प्रदेश : तीन वर्षमै पाँचौं सरकार गठनको तयारी, तीन महिनामै तीन मुख्यमन्त्री विदा

मंसिर १७, २०८२ |किरण पौडेल
मधेश प्रदेश : तीन वर्षमै पाँचौं सरकार गठनको तयारी, तीन महिनामै तीन मुख्यमन्त्री विदा

काठमाडौं । मधेश प्रदेशले तीन वर्षमा पाँचौं मुख्यमन्त्री पाउने भएको छ। 

२०७९ सालको निर्वाचनपछिका ३६ महिनामा मधेश प्रदेश सरकारबाट चार मुख्यमन्त्री विदा भएका छन् । गएको तीन महिनामात्रै मधेश सरकारमा तीन मुख्यमन्त्री नियुक्त भए । तर बुधबार मुख्यमन्त्री पदबाट नेकपा एमालेका सरोजकुमार यादवले राजीनामा दिएसँगै अब फेरि नयाँ सरकार गठनको बाटो खुलेको छ।

संघीयतापछिको पहिलो कार्यकालमा प्रदेश सरकारहरूमध्ये सबैभन्दा स्थिर सरकारको नमूना थियो– मधेश प्रदेशको सरकार । तर २०७९ को निर्वाचनपछि भने मधेश दलहरूको दाउपेच र लेनदेनको यस्तो केन्द्र बन्यो कि मधेशले बितेका तीन वर्षमै चार जना मुख्यमन्त्री देखिसक्यो। अब फेरि मधेश सरकारमा नयाँ मुख्यमन्त्री आउने छन्।

२०७९ मंसिरको आम निर्वाचनको मतपरिणामलगत्तै पुस २९ गते जनता समाजवादी पार्टी, नेपालका सरोजकुमार यादव मधेश प्रदेशको मुख्यमन्त्री बन्नुभयो । तर केन्द्रमा भएको समीकरण फेरबदलसँगै प्रदेशमा पनि त्यस प्रत्यक्ष प्रभाव देखियो । २०८१ जेठ २३ गते प्रदेशसभाबाट विश्वासको मत लिन असफल भएपछि यादव पदमुक्त हुनुभयो । 

एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी फोरम र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा २०८१ जेठ २५ गते जनमत पार्टीका सांसद सतिशकुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभयो । मुख्यमन्त्री सतिशकुमार सिंहले गत असोज २८ गते आफ्नै पार्टी जनमतले प्रपञ्च रचेको र सरकारमा सहभागी दलहरूले बचन फेरेको आरोप लगाउँदै राजीनामा दिनुभयो ।

त्यसपछि मुख्यमन्त्री पदका लागि दुईवटा दाबी पेस भए- नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र प्रसाद सोनलको । अन्त्यमा जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले सोनललाई मुख्यमन्त्री पदमा दिएको समर्थन आधिकारिक रहेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएपछि जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादीसहित पाँच राजनीतिक दलका ५६ जना प्रदेश सभा सदस्यहरूको समर्थनमा जितेन्द्र सोनल मुख्यमन्त्री बन्नुभयो । 

असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनलले नियुक्तिको २५ दिनमा विश्वासको मत नपाउने परिस्थिति बनेपछि राजीनामा दिनुभयो । दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन हुने परस्थिति जिवित रहँदै ठूलो दलको रूपमा नेकपा एमालेबाट प्रदेश प्रमुख बन्नुभएकी सुमित्रा सुवेदी भण्डारीले नेकपा एमालेका सरोजकुमार यादवलाई रातारात मुख्यमन्त्री नियुक्त गर्दै एउटा होटलमा सपथ गराउनुभयो ।

प्रदेशप्रमुखको उक्त कदमको व्यापक आलोचना भयो । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई मन्त्रिपरिषद्ले पदमुक्त गर्न सिफारिस गर्यो । यादवको नियुक्तिविरूद्ध नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, तात्कालिक माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ७४ सांसदले यादवको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराए ।

यादवको नेतृत्वमा बनेको प्रदेश सरकार असंवैधानिक भएको दाबी गर्दै परेको रिट निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाईमै दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गर्यो र मंसिर १५ मा संक्षिप्त आदेश जारी गर्दै यादवलाई २४ घन्टाभित्र विश्वासको मत पुष्टि गर्न अवसर दिने गरी परमादेश जारी गर्यो ।

मंसिर १७ गते बुधबार विश्वासको मत नपाउने निश्चित भएपछि यादवले राजीनामा दिनुभयो । प्रदेशसभाको पहिलो कार्यकालमा पाँच वर्ष लालबाबु राउतले पूरा कार्यकाल मुख्यमन्त्रीको रूपमा काम गर्नुभएको थियो । तर प्रदेशसभाको दोस्रो कार्यकालको ३६ महिनामा मधेशले अब ५ औँ मुख्यमन्त्री खोजीरहेको छ । 

मधेस जस्तै अन्य प्रदेशका सरकार पनि अस्थिर छन् । कोशी प्रदेशमा पाँचपटक मुख्यमन्त्री फेरबदल भएको छ । त्यसैगरी बागमतीमा तीन, गण्डकीमा, लुम्बिनी र सुदुरपश्चिममा चार र कर्णालीमा दुईपटक मुख्यन्त्री फेरिएका छन् ।


Image

किरण पौडेल

पौडेल कान्तिपुर टेलिभिनजमा कार्यरत छन् ।