गोल, कीर्तिमान र आत्मविश्वास : रोनाल्डोको पुनरागमन

असार १०, २०८३ |विनयज्योति सापकोटा
गोल, कीर्तिमान र आत्मविश्वास : रोनाल्डोको पुनरागमन

काठमाडौं । जहिल्यै सिक्नुपर्छ। कहिल्यै हार मान्नु हुँदैन। 

प्रगति गर्न कुनै कुरा बाधक बन्न सक्दैन। र, सबैभन्दा मूख्य कुरा त उमेरले कहिल्यै छेक्दैन। यो रोनाल्डोको जिवन हेरेर सहजै बुझ्न सकिने कुरा हो। उनी बोल्न त माहिर नै छन्। सबै उत्तर खेलेरै दिन चाहन्छन्। दुई दशक विश्व फुटबलमा छाएका रोनाल्डो गएराति उज्वेकिस्तानविरुद्ध २ गोल गरेपछि फेरी चर्चाको शिखरमा छन्। 

आउनुहोस्, रोनाल्डो उनको विगत र विश्व फुटबलमा उनको यात्राबारे चर्चा गरौँ।

पाँच वर्षअघि युरो कप २०२० क्रिस्टियानो रोनाल्डोको पाँचौ युरो कप थियो । अन्य खेलाडीभन्दा धेरै सहभागिताले फर्ममा थिए रोनाल्डो । त्यतिबेलै हो, उनी १४ गोलसहित युरो कप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका । तर, रोनाल्डो वा उनका समर्थकलाई, अन्तिम १६ मा तत्कालीन विश्व नम्बर वान बेल्जियमसँग १-० ले पराजित भएर बाहिरिँदाको पीडा कमको थिएन ।

युरो कप र नेसन्स लिग जितिसकेकाले त्यसपछि उनले युवा खेलाडीलाई जिम्मेवारी सुम्पिनेछन् भन्ने अनुमान धेरैको थियो । उनले एक अन्तर्वार्तामा कतार विश्वकप खेलेर सन्यास लिने घोषणा गरेको कुरा सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । 

उनले कतार विश्वकप पोर्चुगलले जितेमा सन्यास लिने, तर जित्न नसके-नलिने भनेको भन्दै धेरै मिडियाले कोट गरेका थिए । उनको टिमले सन् २०२२ को विश्वकप जितेन । त्यसपछि उनले आफ्नो विश्वकप सपना समाप्त भएको भन्दै पोस्ट म्याच कन्फरेन्समा बताएका थिए । 

त्यसपछि रोनाल्डोले छैटौं युरो कप पनि खेलिसकेका छन् । तर, युरो कप २०२४ उनका लागि बिर्सन लायक रह्यो । न रोनाल्डाले गोल गर्न सके न उनको टिमले नकआउट चरणमा गोल गर्यो । समूह चरणमा विजेता बन्नु नै ठूलो कुरा रह्यो । अन्तिम १६ मा स्लोभेनियालाई पेनाल्टीमा हराए पनि र क्वार्टरफाइनलमा फ्रान्ससँग गोलरहित हुँदै उनको टिम बाहिरियो ।

पाँच पटकका बालोन–दो अवार्ड विजेताका लागि त्यो सायद सहज थिएन । अर्कोतर्फ म्यानचेस्टर सिटीमा अनुबन्ध हुन इटालीबाट प्लेन चढेका रोनाल्डो विमानस्थलबाट सीधै म्यानचेस्टर युनाइटेडमा पुगेर त्यतै खेल्न थालेका थिए । तर, मैदानमा रोनाल्डोको पुनरागमन सोचेजस्तो भएन । 

‘रोनाल्डो बुढा भएछन्’, युनाइटेडकै समर्थकले भन्न थालिसकेका थिए । उनीहरुले रोनाल्डोलाई ल्याउनुभन्दा कुनै युवा खेलाडीमाथि लगानी गरेको भए हुन्थ्योसम्म भन्न भ्याए । तर, रोनाल्डोको युनाइटेडमा उपस्थितिको भ्यालु कमको भने थिएन ।

पहिले सँगै खेलेका ओले गनर सोल्सायरको प्रशिक्षणले टिमलाई युनिटी प्रदान गरेको बुझिन्थ्यो, जुन पछि कमजोर बन्दै गयो । त्यसयता उनी एसियाली लिग खेलिरहेका छन् । अहिले रोनाल्डोको छैटौं विश्वकप सहभागिता हो । उनले गएराति विश्वकपमा उज्वेकिस्तानविरुद्ध २ गोल गरे । 

उनको २ गोल सहयोगमा पोर्चुगलले एसियाली प्रतिद्वन्द्वीलाई ५-० ले हरायो । त्यसपछि उनले भनेका छन्, ‘आई एम ब्याक ।’ मैले तपाईँहरुलाई सुनाएको यति महान खेलाडीको पछिल्लो समयको कमजोर फर्मको कथा पनि गएराति रोनाल्डोले भनेको ‘आई एम ब्याक’ भन्ने कुरालाई पुष्टि गर्न हो । 

उनले किन त्यसो भने त ?

पोस्ट म्याच प्रेस कन्फरेन्समा उनलाई यस विषयमा सोधिएको पनि थियो । उनले जवाफमा कृटिक्सले आफूले २३ वर्षसम्म यस्तै खेलिरहेको कुरा नबिर्सिउन भनेर सम्झाउन यस्तो भनेको बताएका छन् । त्यससँगै उनले विश्वकपमा दुई गोल गर्दा खुसी भएको बताए अनि टिमको एकताको प्रशंसासमेत गरे । 

त्यही २ गोलले रोनाल्डोलाई लगातार छैटौं विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमानसम्म पुर्याएको छ । यो, त्यसै बन्ने कीर्तिमान होइन । उनले सन् २००६ यताका सबै विश्वकपमा गोल गरेका छन् । विश्वकपमा अहिले उनको गोल संख्या १० पुगेको छ ।

यो कुरालाई सम्बोधन गर्दै रोनाल्डोले व्यक्तिगत कीर्तिमान जहिल्यै गजब हुने तर, टिमलाई सहयोग गर्ने नै आफ्नो अन्तिम लक्ष्य हुने बताएका छन् । तर, पछिल्लो हप्ता पोर्चुगलका लागि सहज थिएन । कारण विश्वकपको पहिलो खेलमा डीआर कंगोसँगको बराबरी । 

उक्त बराबरीपछि प्रशिक्षक मार्टिनेजलाई टिममा रोनाल्डोको उपस्थितिको जवाफ दिन बाध्य पारेको थियो । किनभने उनको टिमले ७५ प्रतिसत बल पोसेसन राख्दा रोनाल्डोले २५ पटक पनि बल पाएका थिएनन् । पोर्चुगलको एक मात्र स्ट्राइकर त उनी नै थिए । 

त्यसैले सट अन टार्गेट राख्न नसक्ने हो भने उनको उपस्थिति किन भन्दै प्रशिक्षक मार्टिनेजलाई प्रश्न गरिएको हो । गएरातिको खेलमा प्रशिक्षकलाई र रोनाल्डोलाई खेलबाटै जवाफ दिनु थियो । उनले खेलको छैटौं मिनेटमै जोआ क्यान्सेलेको क्रसमा सानदार फिनिसिङ गरे । 

अर्को एक फ्रि किकमा माइन्ड गेम खेल्दै नुनो मेन्डेसलाई गोल गर्न लगाए । ३९औं मिनेटमा पेनाल्टीमा गोल गरे । विपक्षी गोलकिपरले एउटा गोल कोसेली दिए । एक गोल राफेल लियाओको नाममा रह्यो । अतः यो घटना फुटबलमा रोनाल्डोको कमब्याक थियो । 

सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्ताले पछिल्लो समय सक्रिय बनेको आफ्नो आलोचकलाई जवाफ दिएका छन् । तर, सायद उनले जवाफ दिनु पर्दैन पनि थियो कि । किन भने उनको इतिहास नै महान छ । ठूला अन्तर्राष्ट्रिय प्रतियोगिताको कुरा गर्दा रोनाल्डोले २००४ मा युरोकपमा डेब्यू गरे । 

पहिलोपटक युरोकपमा खेल्दा रोनाल्डोले दुई गोल गरेका थिए । रोनाल्डोले २००८ को युरोकपमा एक र २०१२ को युरोकपमा तीन गोल गरे । त्यस्तै रोनाल्डोले २०१६ को संस्करणमा तीन गोल गरेका थिए भने २०२० संस्करणमा त पाँच गोल गर्न सफल भए ।

युरोकपबाहेक रोनाल्डोले २००४ को ओलम्पिक, २००६, २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप पनि खेलेका छन् । यी सबै विश्वकपमा गोल गरेका छन् । उनले जर्मन, दक्षिण अफ्रिका र ब्राजिल विश्वकपमा समान एक एक गोल गरे । रुस विश्वकपमा चार र कतार विश्वकपमा एक गोल गरेका थिए । 

२०१९ र २०२१ को नेसन्स लिगमा पनि उनी सहभागी बन्दै गोल गरे । युरोकप २०१६ को युरो कप फाइनलमा प्रशिक्षक फर्नान्डो सान्तोस जत्तिकै रोनाल्डोले पनि खेलाडीलाई आदेश दिइरहन्थे । फ्रान्सविरुद्धको त्यो फाइनलमा पोर्चुगलले उच्चस्तरको खेल प्रस्तुत गरेको थियो । 

जसकारण उसले उपाधि जित्यो । त्यसपछि उनी राम्रा प्रशिक्षक बन्न सक्ने अनुमान नगरिएका भने होइनन् । रोनाल्डोको त्यो शैली प्रशिक्षक बन्न मार्गदर्शक भनिए पनि डीएजेएन इटालीसँगको कुराकानीमा आफू प्रशिक्षक नबन्ने बताएका थिए ।

यस्तै सन २०१९ को दुबई स्पोर्टस् कन्फेरेन्समा उनले जबसम्म आफ्नो शरीरले सही तरिकाले खेल्न सक्छ तबसम्म खेल्छु भनेका थिए । त्यतिबेलासम्म पनि खेलाडीले ३०–३२ वर्षसम्म मात्रै खेल्न सक्छ भने विश्वास गरियो । रोनाल्डोले भने यो परम्परागत बुझाईलाई पनि भत्काइसकेका छन् । 

उनी मात्रै होइन पेपे, ज्वालटत इब्राहिमोविच, लेवान्डोस्की र मेस्सी पनि यस्तो मान्यताभन्दा धेरै अगाडि बढेर खेलिरहेका छन्। रोनाल्डो नयाँ कुरा सिक्नुपर्छ भन्ने मान्यता राख्छन् । ५० वर्षको हुँदासम्म सिक्नपर्छ भन्ने उनको भनाइ रहँदै आएको छ ।

सन् २०१६ मा युरोकप अनि सन् २०१९ मा नेसन्स लिगको उपाधि जितेपछि रोनाल्डोको एक अन्तर्वार्ता सार्वजनिक भएको थियो । त्यसबेला उनले आफूले सन्यास लिएपछि फिल्म कलाकार बन्ने आशा व्यक्त गरेका थिए । त्यतिबेला नै उनी आफैं पनि सन्यासको तयारी गरिरहेका हुन् कि भन्ने धेरैको आकलन थियो । तर, एक खेलको प्रदर्शनले सबै फर्म निर्धारण गर्दैन । 

समूह चरणमा नै पोर्चुगलको स्थान निर्धारण गर्ने कोलम्बियासँगको खेल त बाँकी नै छ । यो खेलमा रोनाल्डो र पोर्चुगलले कस्तो प्रदर्शन गर्ला त ?


Image

विनयज्योति सापकोटा

सापकोटा कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।