
दोलखा । चीनसँग सीमा जोडिएको दोलखाको विगु गाउँपालिका–६ आलम्पु स्लेट अर्थात् घर छाउने ढुङ्गाखानीको गाउँले परिचित छ ।
भूकम्पअघिसम्म दोलखाको ग्रामीण बस्तीका अधिकांश घर यही ढुङ्गाले छाएका भेटिन्थे । तर, भूकम्पपछि ग्रामीण भेगका बस्ती जस्ताको छानाले रंगिए । घर छाउने स्लेट भने सहरका घरको शोभा बढाउने माध्यम बन्यो । तर, अहिले यही ढुङ्गा गाउँभरि पैदलमार्गमा ओछ्याएर चिटिक्क पारिँदैछ ।
दोलखाको दुर्गम आलम्पु, स्लेट अर्थात् घर छाउने ढु्ङ्गा खानीको गाउँ । ढुङ्गाले छाएका चिटिक्क परेका घरहरूले गाउँ निकै सुन्दर देखिन्थ्यो । तर, भूकम्पपछि गाउँ जस्तापाताले रंगिएको छ । तर, यही ढुङ्गा बिच्छ्याएर आलम्पुका टोलटोलका पैदलमार्ग भने अहिले चिटिक्क बनेका छन् । यी पैदलमार्ग सुरक्षित र वातावरणमैत्री छन् । स्थानीयले आफ्नो खानीको ढुङ्गा गाउँमै बेचेर आम्दानी लिन पाए भने गाउँमै रोजगारीसमेत पाएका छन् ।
आलम्पुको वडाभरि २० वटाभन्दा बढी यस्ता पैदलमार्ग बनेका छन् । जसको लागत २ करोडभन्दा धेरै छ । जसमध्ये १ करोड ३० लाख रकम स्थानीयले आफ्नो खानीबाट ढुङ्गा बेचेर आम्दानी लिएका छन् । खानीमा मात्रै झन्डै २ सय ५० जनाले रोजगारी पाएका छन् ।
वातावरणमैत्री र आकर्षक देखिएपछि छिमेकी वडाहरूले पनि आलम्पुको ढुङ्गा खानीबाट स्लेट किनेर पैदलमार्ग बनाउन थालेका छन् । २०१३ सालमा खुलेको यो खानी आलम्पुका अधिकांश घरले अंशवण्डामा पाएको रोजगारीको खानी हो । अल्पसंख्यक थामी समुदायको यी खानीमा स्थानीय २ सय ५० भन्दा धेरैले रोजगारी पाएका छन् ।
वार्षिक ५ करोडभन्दा माथिको ढुङ्गा यही खानीबाट सहरमा जाने गरेकाे छ ।