
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ देखि ९ गतेसम्म चितवनमा हुने महाधिवेशनमा २०७९ र २०८२ को निर्वाचनमा पराजित पार्टीका उम्मेदवारलाई समेत प्रतिनिधि छनोट गरेको छ। बढीमा १ सय ८० यस्ता प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । रास्वपाले चार वटा क्लस्टरमा विभाजन गरी प्रतिनिधि छनोट गरेको हो । महाधिवेशनको बन्द सत्रमा झन्डै ३ हजार प्रतिनिधि सहभागी हुँदैछन् । कुन क्लस्टरबाट कति प्रतिनिधि सहभागी हुँदैछन् ?
राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाको यही असार ७ देखि ९ गतेसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको बन्द सत्रमा सहभागी हुने झन्डै ३ हजार प्रतिनिधिको सूची क्लस्टरअनुसार तय गरेको छ । पार्टी केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सल्लाहकार तथा संसदीय, प्रादेशिक तथा निर्वाचन क्षेत्र, जिल्ला तथा स्थानीय पालिका र विशेष, मनोनित तथा प्रवास क्लस्टर गरी चार क्लस्टर अनुसार प्रतिनिधि चयन गरेको हो । सबैभन्दा बढी प्रतिनिधिहरुको सहभागिता प्रादेशिक तथा निर्वाचनक्षेत्र क्लस्टर र जिल्ला तथा स्थानीय पालिका क्लस्टरबाट हुने आयोगले जनाएको छ । सातवटै प्रदेश समितिबाट ३ सयजना सहभागी हुनेछन् । त्यसैगरी प्रदेशका आयोग तथा विभागबाट एकसय ५०, प्रदेश काठमाडौँ सम्पर्क विभागबाट १८ तथा निर्वाचन क्षेत्र समितिबाट ३ सय ३० प्रतिनिधि चितवनमा पुग्नेछन् ।
चितवन महाधिवेशनमा जिल्ला तथा स्थानीय पालिका क्लस्टरअन्तर्गत महाधिवेशन सम्पन्न भएका ६४ जिल्लाबाट सभापतिसहित पाँचजना गरी ३ सय २० प्रतिनिधि सहभागी हुनेछन् भने अधिवेशन स्थगन भएका १३ जिल्ला समितिहरुबाट ३९ जना सहभागी हुने छन् ।
जिल्ला काठमाडौ सम्पर्क विभाग प्रमुख र अनुशासन आयोगका प्रमुख गरी ८० जना, अधिवेशन भएका पालिकाबाट ६ सय ९, अधिवेशन नभएका पालिकाका सभापतिमात्र १ सय ४४ प्रतिनिधि सहभागी हुनेछन् । पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित समायोजित पालिकाका प्रमुख तथा उपप्रमुखका लागि १५ जना छुट्टाइएको छ । जिल्ला तथा स्थानीय पालिका क्लस्टरबाट कुल १२ सय ७ जना सहभागी हु्नेछन् ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगले विशेष, मनोनित तथा प्रवास क्लस्टरबाट ६ सय २० जना सहभागी हुने प्रक्षेपण गरेको छ। प्रवास नेपाली सम्पर्क विभागमार्फत् विभिन्न देशहरुका शाखाबाट १७० जना महाधिवेशन प्रतिनिधिहरु सहभागी हुनेछन् । फागुन २१ को निर्वाचनमा पराजित उम्मेदवार पनि महाधिवेशन प्रतिनिधिमा समेटिने भएका छन् । उम्मेदवार भएका तर निर्वाचित हुन नसकेकाहरुका लागि १ सय कोटा छुट्टाइएको छ । यसैगरी २०७९ को निर्वाचनमा उम्मेदवार भइ निरन्तर सक्रियरहेका नेताहरुका लागि पनि रास्वपाले ८० जनाको कोटा राखेको छ भने पार्टी समायोजनबाट आएकाहरुको हकमा पनि महाधिवेशन प्रतिनिधिका लागि भनेर २ सय जनाको कोटा राखिएको छ । केन्द्रीय, सल्लाहकार तथा संसदीय क्लस्टरबाट ४ सय ८२ जना सहभागी हुनेछन् । केन्द्रीय समितिका सदस्य, केन्द्रीय सल्लाहकार परिषद, केन्द्रीय आयोग, केन्द्रीय विभाग र प्रतिनिधि सभाका १८२ जना सांसदहरु स्वत प्रतिनिधि हुने रास्वपा निर्वाचन आयोगले जनाएको छ ।