काठमाडौं । अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बर्डफ्लुको संक्रमण देखिएको छ ।
उपत्यकामा मात्र जेठको दोस्रो सातायता ५० स्थानका १ लाख ७० हजार पन्छी नष्ट गरिसकिएको छ । सदर चिडियाखानामा समेत संक्रमणकै कारण तीन दर्जन पशुपन्छी मरेका छन् । पशुपन्छीमा तीव्र रुपमा फैलिएको बर्डफ्लु संक्रमणको जोखिम मानिसहरुमा कत्तिको छ ?
संक्रमण मानिसमा सर्न नदिन कस्ता सावधानी अपनाउन जरूरी छ ?
बर्डफ्लुका विभिन्न प्रजातिमध्ये एच फाइभ एन वानलाई अति संक्रामक मानिन्छ । पशु सेवा विभागका अनुसार अहिले पन्छीमा एच फाइभ एन वान र एच नाइन एन टु प्रजातिको भाइरस बढी सक्रिय छ । तीमध्ये एच फाइभ एन वान निकै घातक मानिन्छ ।
यो भाइरसको भेरियन्ट नेपालमा सन् २०१९ मा एक व्यक्तिमा पुष्टि भएको थियो भने पछि उनको मृत्युसमेत भयो । अर्थात् बर्डफ्लुको जोखिम मानिसमा समेत छ । तर, २०१९ यता नेपालमा कुनै पनि व्यक्तिमा यो भाइरस पुष्टि भएको छैन । तर, निगरानीदेखि उपचारका लागिसमेत तयारी अवस्थामा रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
अब कुरा गरौं बर्डफ्लुको जोखिममा को बढी हुन्छन् भनेर । यो भाइरसको सबैभन्दा बढी जोखिममा हुन्छन् पोल्ट्री व्यवसायसँग प्रत्यक्ष जोडिएका व्यक्तिहरू । अर्थात् कुखुरा फार्ममा दिनरात काम गर्नेहरु । त्यसैगरी, पशुपन्छी ढुवानी गर्ने व्यक्तिहरु र बधशालाका कामदार पनि जोखिममा हुन्छन् ।
राम्ररी नपकाइ मासु तथा अण्डाको सेवन गर्ने व्यक्तिहरु पनि जोखिममा हुन्छन् । मानिसमा यो भाइरस सरेमा असर निकै घातक हुन्छ । विश्वव्यापी तथ्याङ्कले सङ्क्रमित मानिसहरूमा मृत्युदर करिब ६० प्रतिशतसम्म रहने देखाएको छ। सुरुवाती अवस्थामा यसका लक्षणहरू सामान्य मौसमी रुघाखोकीजस्तै हुन्छन्, जसमा बिरामीलाई तीव्र ज्वरो आउने, जिउ र मांसपेशी दुख्ने, अत्यधिक थकाई लाग्ने, घाँटी दुख्ने र खोकी लाग्ने हुन्छ।
कतिपय अवस्थामा बिरामीको आँखा रातो हुने समस्या पनि देखिन्छ। तर, रोग बढ्दै जाँदा यसले सोझै मानिसको श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्छ र निमोनियाको रूप लिन्छ, जसका कारण बिरामीलाई सास फेर्न गाह्रो भई अक्सिजनको कमी हुन्छ र अन्ततः मृत्युसमेत हुन सक्छ।
बर्डफ्लुको संक्रमणबाट कसरी जोगिने ?
सबैभन्दा पहिला पशुपन्छीसँग प्रत्यक्ष काम गर्ने व्यक्तिहरूले सधैँ सुरक्षित पहिरन जस्तै मास्क, पञ्जा, चस्मा र बुटको अनिवार्य प्रयोग गर्नुपर्छ र काम सकिएपछि साबुनपानीले राम्ररी हातगोडा धोएर मात्र घरपरिवारको सम्पर्कमा जानुपर्छ। उपभोक्ताहरूमा बर्डफ्लु फैलिएपछि कुखुराको मासु र अण्डा खाने कि नखाने भन्ने विषयमा सधैँ अन्योल र त्रासको विषय बन्दै गएको छ ।
चिकित्सकहरुका अनुसार बर्डफ्लुको प्रकोप चलेको समयमा पनि कुखुराको मासु र अण्डा खान पूर्ण रूपमा सुरक्षित हुन्छ, यो भाइरस ७० डिग्रीभन्दा माथिको तापक्रममा सजिलै नष्ट हुन्छ। अर्थात् राम्ररी पाकेको मासु र कडा हुने गरी उमालिएको अण्डाबाट भाइरस सर्ने सम्भावना रहँदैन।
तर, केही गम्भीर गल्तीहरू भने गर्नु हुँदैन । यो समयमा हाफ बोइल्ड अण्डा, पोच, वा भित्र रगत देखिने गरी हल्कामात्र फ्राई गरिएको मासु खान हुँदैन । काँचो मासु राखिएको भाँडाकुँडा तथा मासु छोइएपछि भने हात राम्ररी पखाल्नु वा धुनुपर्ने भने हुन्छ ।
सतर्कता अपनाएमा यसको जोखिमबाट बँच्न सकिने भएकाले पोल्ट्री फार्मदेखि भान्सासम्ममा मासु तथा अण्डा भित्र्याउँदा चनाखो हुनुपर्छ । र, आफूलाई कुनै लक्षण देखिएमा तुरुन्त चिकित्सकहरुको सम्पर्कमा आउनुपर्छ ।