कांग्रेसले साथ छाडेपछि मधेशमा एक्लिँदै एमाले, संसदीय दलभित्रनै असन्तुष्टि

मंसिर ६, २०८२ |अनिल मिश्र|अमरकान्त ठाकुर
कांग्रेसले साथ छाडेपछि मधेशमा एक्लिँदै एमाले, संसदीय दलभित्रनै असन्तुष्टि

जनकपुर । संघीयता स्थापनाका लागि लामो समयसम्म संघर्ष भएको मधेश प्रदेशमा जेन-जी आन्दोलनपछि राजनीतिक संकट गहिरिँदो छ । 

मुख्यमन्त्री बन्ने मोहका कारण दुई वटा संवैधानिक महत्वपूर्ण पद गुमाइ सकेका मधेस प्रदेश सभामा सबभन्दा ठूलो दलको हैसियतमा रहेका नेकपा एमाले अहिले एक्लिएको छ । प्रदेशको राजधानी भन्दा बाहिरको एक होटेलमा सपथ खाएपछि प्रदेश प्रमुख र सभामुख गुमाइ सकेका एमालेको संसदीय दलभित्रनै असन्तुष्टि चुलिएको छ ।

जेन-जी आन्दोलन पछि मधेश प्रदेशका तत्कालीन मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा, त्यसलगतै जनमतको यूटर्न पछि लोसपाका जितेन्द्र प्रसाद सोनलको नियुक्ति । मुख्यमन्त्रीको सपथ खाएको २५औं दिनमा सोनलको राजीनामा र त्यसको दुई दिन नबित्दै महोत्तरीको एक होटेलमा एमालेका सरोज कुमार यादवको सपथ ग्रहण ।

मधेश प्रदेशमा एक महिना भित्र भएको यो राजनीतिक घटनाक्रम हो । प्रदेशमा पहिलो दलको हैसियतमा रहेको एमाले सत्ताको संयन्त्रमा बलियो पकड बनाएर बसेको थियो । जेन-जी आन्दोलनका कारण संघीय सरकारबाट सत्ताच्यूत भएको एमालेले मधेसमा पनि सत्ता गुमाउँदै गएको छ ।

२५ जना प्रदेश सभा सदस्यसहित मधेश प्रदेश सभामा सबभन्दा ठूलो दलको हैसियतमा एमाले छ । त्यहि हैसियतमा बर्दिबासको एक होटेलमा सरोज कुमार यादवले मुख्यमन्त्रीको सपथ खाएपछि एमालेलाई प्रदेश प्रमुख र सभामुखको पद गुमाउनु परेको छ । उज्यालो नहुँदै राजधानी जनकपुर बाहिरको होटेलमा मुख्यमन्त्रीको नियुक्ति र सपथ खुवाएको विषयको आलोचना भएपछि एमाले कोटामा नियुक्त हुनु भएकी तत्कालिन प्रदेश प्रमुख सुमित्रा सुबेदी भण्डारीलाई संघीय सरकारले पदमुक्त गर्यो । 

यता पदीय आचरणअनुसार काम नगरेको भन्दै एमालेकै तर्फबाट सभामुखमा नियुक्त हुनु भएका रामचन्द्र मण्डललाई दुई तिहाइ मतले महाअभियोग लगाएपछि पदबाट हट्नुपर्यो । एमालेको अलोकतान्त्रिक गतिविधि देखेर सत्ता सहयात्री नेपाली कांग्रेस पनि उसको साथ छोडेर एमालेविरूद्धको मोर्चामा उभिएको छ ।

जेन-जी आन्दोलनको रापतापबाट मुलुकमा राजनीतिक उथलपुथल हुँदा समेत एमालेको टिप्पणी जेन-जी आन्दोलनविरूद्ध निरन्तर छ । यसले हिजो मधेश आन्दोलनविरूद्ध दिएको अभिव्यत्तिका कारण चुलिएको आक्रोस जस्तै अहिले पनि एमाले प्रति मधेसमा उस्तै आक्रोस देखिन्छ । बाराको सिमरामा देखिएको घटनाले त्यहि संकेत गर्छ ।

केन्द्रिकृत सोच, नेताहरूको नकारात्मक टिप्पणी, राजनीतिक मर्यादा विपरितका कार्यलगायतका कारण एमालेले मधेशमा प्रदेश प्रमुख र सभामुखको संवैधानिक पद गुमाएको छ भने दोस्रो ठूलो दल कांग्रेसको साथ पनि छुटेको छ । तर एमाले नेताहरू यसलाई सहज रूपमा स्विकार्न तयार छैनन् । मुख्यमन्त्रीनै जनतासँगको सुमधुर सम्बन्ध झनै झांगिएको प्रतिक्रिया दिन्छन् ।

पछिल्लो घटनाक्रमले एमाले भित्रनै असन्तुष्टि सतहमा आउन थालेको छ । पार्टीका प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ र पोलिटव्युरो सदस्य सुमन प्याकुरेलको साथ मुख्यमन्त्री यादवलाई छ भने पार्टीका केन्द्रीय सचिव रघुवीर महासेठ पक्षधर एमालेका प्रमुख सचेतक हरिनारायण महतोलगायतका नेताहरूले यादवको सपथलाईनै अस्वभाविक भनेका छन् । 


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।

Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।