काठमाडौं । जेन-जी आन्दोलनको प्रमुख माग भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुपर्ने मात्र नभइ नेतृत्व पुस्तान्तरण पनि थियो ।
आमनागरिकको पनि अपेक्षा थियो- भएका र अब दर्ता हुने दलहरूको नेतृत्व जेन-जी उमेर अर्थात् युवाले लिनेछन् । तर, निर्वाचन आयोगमा दल दर्ताका लागि परेको निवेदन केलाउँदा त्यसको ठीकविपरीत देखिएका छन् । हाल दर्ता प्रक्रियामा रहेका २० दलमध्ये अधिकांशको नेतृत्व ५० वर्षमाथिकाले लिएको पाइएको छ ।
जेन-जी युवाहरूले नेतृत्व भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्नुपर्ने मात्र नभइ नेतृत्व पुस्तान्तरणका लागि पनि आन्दोलन गरे । तर निर्वाचन आयोगमा परेका निवेदन हेर्दा नयाँ राजनीतिक दलको नेतृत्व पनि फेरि पूरानै पुस्ताले लिने देखिएको छ । फागुन २१ मा हुने निर्वाचनका लागि आयोगमा अहिलेसम्म २० नयाँ दल दर्ताका लागि निवेदन परेका छन् ।
तीमध्ये राष्ट्रिय परिवर्तन पार्टीको नेतृ्त्व २८ वर्षभन्दा कमका अजयकुमार राइले गर्दैछन् । बाँकी सबै दलको नेतृत्व ५० वर्षमाथिकाले लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको अगुवाइमा मंगलबार घोषणा भएको भनिएको उज्यालो नेपाल पार्टीको नेतृत्व पूर्वसचिव अनुपकुमार उपाध्यायले गर्नुभएको छ, जो अहिले ६५ वर्षको हुनुभयो ।
जनयुग पार्टी दर्ताका लागि निवेदन दिनुभएका पू्र्वराजदूत नवराज सुवेदी ६५ वर्षका हुनुहुन्छ भने नेपाल लिबरल पार्टीको नेतृत्वमा रहनुभएका गोपीलाल न्यौपाने ६१ वर्षको हुनुभयो । आयोगमा परेको दल दर्ताको निवेदन हेर्दा पाँच वटा पार्टीको नतृत्व ५० वर्षभन्दा माथिकाले गरेका छन् । कम्युनिष्ट पार्टी नेपालका नेत्रविक्रम चन्द ५८ वर्ष, राष्ट्रिय उर्जाशील पार्टीका योगेन्द्र मण्डल ५४ वर्ष, आवाज पार्टीका सुन्दरराम बोहरा ५३ वर्ष र जनादेश पार्टी नेपालका रमणकुमार कर्ण ५० वर्षका हुनुहुन्छ ।
केही दलको नेतृत्व भने ४० मुनिकाले पनि गरेका छन् । राष्ट्र निर्माण दलका अकबर खान र हाम्रो पार्टी नेपालका खगेन्द्र सुनार ४० वर्षमुनिका छन् । सबैभन्दा रोचक त के छ भने राष्ट्रिय जेन-जी पार्टी भनेर दल दर्ताको निवेदन दिनुभएका हिराप्रसाद सेती ३२ वर्षको हुनुभयो । अनि यतिधेरै दल दर्ता हुन आए पनि कुनै पनि दलको नेतृत्वमा महिला छैनन् ।
अहिले निर्वाचन आयोगमा नयाँ दल दर्ताको निवेदन दिएकामध्ये पाँच दलले दर्ताको प्रमाणपत्र पाइसकेका छन् भने बाँकी २० दल दर्ताको प्रक्रियामा छन् । प्रमाणपत्र पाइसकेकामध्ये रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीको नेतृत्व मात्रै जेन-जी अर्थात् २७ वर्षका कविर सोबले गर्नुभएको छ ।
यी बाहेकका गतिशील लोकतान्त्रिकदेखि श्रम संस्कृति पार्टीसम्मको नेतृत्वमा जेन-जी युवा छैनन् । हुन त आयोगमा दर्ता हुन आएका दलहरूमा जेन-जीहरू पनि नसमेटिएका होइनन् । तर नेतृत्वमा जेन-जीले स्थान पाएका छैनन् । जेन-जी आन्दोलनले पुस्तान्तरण र नेतृत्व परिवर्तनको आवाज उठाए पनि नयाँ दलमा पुरानै पुस्ताको बर्चस्व देखिएको छ ।