
काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख सुरेन्द्र लाभले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार साँझ जारी गरिएको विज्ञप्तिमा मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि शुक्रबार अपरान्ह ५ बजेसम्मको समय दिइएको छ । २४ घन्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिनुभएको हाे। विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मन्तव्य राख्दै मुख्यमन्त्री यादवले रोष्टमबाटै राजीनामा घोषणा गर्नुभएको हो ।
सदनमा एमाले, संघीय समाजवादी पार्टी र राप्रपाका प्रदेशसभा सदस्यहरूका अतिरिक्त अन्य दलका प्रदेश सभा सदस्यहरू मुख्यमन्त्री यादवको मन्तव्यकै क्रममा बाहिरिएपछि विश्वासको मत नपाउने देखेर उहाँले राजीनामाको घोषणा गर्नुभयो ।
संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत कातिक २३ गते नियुक्त गरेपछि सात दलका ७४ प्रदेशसभा सदस्यहरूले नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट हालेका थिए ।
सो रिटको सुनुवाइ गर्दै मंसिर १५ गते सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घन्टाभित्र विश्वासको मत लिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशअनुसार बुधबार विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।