
सुनसरी । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो दल कसैसँग गठबन्धन गरेर चुनाव लड्ने पक्ष नरहेको बताउनुभएको छ ।
सुनसरीको वराह क्षेत्रस्थित चक्रघट्टीमा बुधबार आयोजित सभालाई सम्बोधन गर्दै साम्पाङले आफ्नो दल कुनै पार्टीसँग गठबन्धन गरेर चुनाव नलड्ने स्पष्ट पार्नुभएको हो । आफ्नो चुनावी सभा र सङ्गठन विस्तारलाई आक्रामक ढङ्गले अघि बढाउनुभएका साम्पाङले आफूलाई कुलमान घिसिङसँग मिलेर चुनाव लड्न अफर आए पनि त्यो सम्भावना नरहेको बताउनुभयाे ।
पार्टीको चुनावी अवधारणा पत्र सार्वजनिक गरेको भोलिपल्टै वराह क्षेत्र पुगेर समर्थकलाई सम्बोधन गर्नुभएका साम्पाङले नेपालका कुनै पनि राजनीतिक दल चोखो नरहेको आरोप समेत लगाउनुभयो । धरान उपमहानगर प्रमुख समेत रहेका साम्पाङले आफ्नै नेतृत्वमा गठन गरेको ‘श्रम संस्कृति पार्टी’ ले सङ्गठन विस्तार तीव्र पारेको छ ।
निर्वाचन आयोगबाट ‘श्रम संस्कृति पार्टी’ दर्ताको प्रमाणपत्र लिएलगत्तै अध्यक्ष साम्पाङ सङ्गठन विस्तारका लागि विभिन्न जिल्ला दौडाहामा व्यस्त हुनुहुन्छ । ठुला भनिएका दलहरू जेन-जी आन्दोलनपछि ‘पर्ख र हेर’ को अवस्थामा रहेको बेला साम्पाङ नेतृत्वको पार्टीले पूर्वका आधा दर्जन जिल्लामा ठुला-ठुला सभा गरिसकेको छ । यी सभामा धेरैको अनुमान विपरित उल्लेख्य भीड देखिएको छ ।