रास्वपाले आगामी निर्वाचनमा गठबन्धनको विकल्प खुला राख्यो

कार्तिक २१, २०८२ |राजु चौधरी
रास्वपाले आगामी निर्वाचनमा गठबन्धनको विकल्प खुला राख्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाले २१ फागुनमा तोकिएको निर्वाचनमा अन्य राजनीतिक दल र संगठनहरूसँग चुनावी कार्यगत एकता गर्न सकिने विकल्प खुला राख्नेभएको छ।

चितवनमा शक्रबारदेखि सुरू भएको पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले पेस गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धन गर्न सकिने उल्लेख भएको हो । प्रतिवेदनमा कस्ता दल र शक्तिसँग कार्यगत एकता गर्न सकिन्छ भन्नेबारे नखुलाइए पनि पार्टीको मर्म र भावनालाई मर्न नदिने उल्लेख छ । 

नयाँ बन्ने दलहरूसँग कार्यगत एकताका लागि यो विकल्प खुला गरिएको नेताहरूको भनाइ छ। पुराना राजनीतिक दलहरूको गठबन्धनमाथि आलोचना गर्दै आएको रास्वपाले आगामी निर्वाचनमा भने आफै पनि गठबन्धन गर्ने निष्कर्षमा पुगेको हो। बैठकमा पार्टीभित्र नयाँ नेतृत्वको विषयमा पनि छलफल हुने बताइएको छ । 

यस्तै आगामी निर्वाचन र पार्टीको महाधिवेशनको विषयमा पनि बैठकले निर्णय गर्ने प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । रास्वपाले यसअघि फागुनमा चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । सरकारले फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने निर्णय गरेपछि महाधिवेशनबारे रास्वपाले अर्को निर्णय गर्न लागेको हो । 

बैठकमा केन्द्रीय समिति, निर्वाचन क्षेत्र समिति संयोजक, पालिका संयोजक, जिल्ला संयोजक, प्रदेश सचिवालय पदाधिकारी, प्रदेश विभागका पदाधिकारीलगायतका गरी ५१२ जना सहभागी छन् ।


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।