सरकार गठनको एक महिनामा पनि मन्त्रिपरिषद्ले पाएन पूर्णता

आश्विन २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकार गठनको एक महिनामा पनि मन्त्रिपरिषद्ले पाएन पूर्णता

काठमाडौं । मन्त्रिपरिषद्‍मा सहभागी हुने नामका विषयमा जेन-जी प्रतिनिधिहरूनै एकमत हुन नसक्दा सरकार गठनको एक महिना बित्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

प्रधानमन्त्री सुशीला कार्कीले छलफल जारी राखे पनि जेन-जीका तर्फबाट मन्त्री बन्नेको टुंगो लाग्न नसक्दा मन्त्रिपरिषद् पूर्णतामा ढिलाइ भएको हो । गत भदौ २७ गते कार्की प्रधानमन्त्री बनेपछि हालसम्म २ चरणमा मन्त्रिपरिषद् बिस्तार भई ८ सदस्यीय बनेको छ । 

केही दिनयता सामाजिक सञ्जालमा जेन-जीका तर्फबाट गणपतीलाल श्रेष्ठ, बब्लु गुप्ता, डा. रामजी राम र टाँसी ल्हाजोम मन्त्री बन्ने चर्चा भइरहेको छ । तर, मन्त्री बन्ने चर्चामा रहेकाहरुले भने यस विषयमा केही जानकारी नभएको बताइरहेका छन् ।

कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै डा. रामजी रामले मन्त्री बन्नेबारे आफूसँग कसैले अहिलेसम्म छलफल नगरेको बताउनुभएको छ । यसैगरी बब्लु गुप्ताले सामाजिक सञ्जालमार्फत मन्त्रिपरिषद्‍बारे आफूले कुनै पनि कुरा पनि थाहा नपाएकाले भ्रमका पछाडि नलाग्न आग्रह गर्नुभएको छ । 

यस्तै गणपतिलाल श्रेष्ठले यसबारे आधिकारिक जानकारी नआए पनि केही दिनअघि प्रधानमन्त्रीसँग छलफल भएको बताउनुभयो । अर्को नाम टाँसी ल्होजोमसँग भने सम्पर्क हुन सकेन । मन्त्री बन्ने भन्दै नाम चर्चामा ल्याइएपछि केही जेन-जी अगुवाहरूले भने सरकारलाई प्रश्न गरेका छन् ।

यस्तै जेन-जी अगुवा मिराज ढुंगानाले मन्त्रीहरू कसले सिफारिस गरेको हो भनेर प्रश्न गर्नुभएको छ । जेन-जीका अर्का अगुवा सुदन गुरुङले कान्तिपुर टेलिभिजनसँगको कुराकानीमा मन्त्रीका लागि नामहरु आफूले सिफारिस नगरेको उल्लेख बताउनुभयो । प्रधानमन्त्रीले आफ्नो बिवेकले मन्त्री नियुक्त गर्ने गरेको उहाँको भनाइ छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.