
धनुषा । तीन दशकदेखि पुराना बिग्रिएका डीप बोरिङ्गहरू मर्मत सम्भारपछि सञ्चालनमा ल्याइएसँगै मधेश प्रदेशका किसानलाई राहत मिलेको छ ।
कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्र धनुषाले पुराना मर्मतसम्हार तथा नयाँ डीप बोरिङ्ग जडान गरेपछि किसान खुसी छन् । एक बालीसमेत उत्पादन गर्न हम्मे पर्ने खेतमा सिँचाइ सुविधा पुगेपछि तीन बाली लगाउन सम्भव भएको छ ।
सर्लाही ईश्वरपुर नगरपालिका १३ श्रीनगरका लक्ष्मी दासले १४ कठा खेतमा अहिले चैते धान लगाउनुभएको छ । सिँचाइ अभावमा दुई वर्षअघिसम्म खेत बाँझै राख्नुपर्ने बाध्यता रहेको बेला ३५ वर्ष पुराना बिग्रिएका डीप बोरिङ्ग सञ्चालनमा आएपछि दासले चैतेधान लगाउनुभएको हो ।
सिँचाइ सुविधा पाएसँगै ईश्वरपुर नगरपालिकाका श्रीनगर, फुलजोर र नरेशखोर क्षेत्रका तीन सय घरपरिवारको ४ सय बिघाभन्दा बढी खेतमा अहिले तीन बाली लाग्छ । महोत्तरीको गौशाला नगरपालिकामा पनि डीप बोरिङ्ग जडान भएपछि किसानहरूले सिँचाइ सुविधा पाएका छन् ।
रजखोर र कुशमारी टोलमा हालै जडान भएको दुईवटा डीप बोरिङ्गबाट दुई सय घर परिवारको तीन सय बिघामा सिँचाइ सुविधा पुगेको छ । धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्लामा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले धनुषाको नक्टाझिजमा २०२९ सालमा स्थापना भएको जनकपुर कृषि विकास योजनाले २०४१ सालदेखि २०७४ सम्म ३५ वर्षको अवधिमा १ सय ९० वटा डीप बोरिङ्ग जडान गरेको थियो ।
२०७५ सालमा नाम फेरिएर कृषि यान्त्रिकीकरण प्रवर्द्धन केन्द्र बनेपछिको पाँच वर्षमा ३२ वटा नयाँ डीप बोरिङ्ग जडान गरियो । विगतमा जडान भएका ३० वर्षभन्दा पुराना डीप बोरिङ्गहरूको मर्मतसम्भार, विद्युतीकरण र पम्प जडान गरेर १६ वटा बोरिङ्ग पुनः सञ्चालनमा ल्याउँदा ८ सय बिघामा सिँचाइ सुविधा पुगेको छ ।
तराई मधेशको खेतीयोग्य जग्गामध्ये ६० देखि ७० प्रतिशत भूमिगत जलस्रोतबाट नै सिँचाइ हुने गरेको तथ्यांक छ । अहिले धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा सञ्चालनमा १ सय ७ वटा डीप बोरिङ्ग सञ्चालनमा छन् । कृषि विभागबाट अनुगमनमा पुगेको टोलीले कम लागतमा खेतमा सिँचाइ पुगेको निष्कर्ष निकालेको छ ।
अकासेपानीको भरमा बााचिरहेका किसानको लागि भूमिगत जलस्रोत सिँचाइ प्रणालीले ठूलो भरथेग गरेको छ । तर, जलवायु परिवर्तनको असरले भूमिगत पानीको सतहसमेत घटिरहेका बेला खोला-नदीमा आधारित नहर तथा कुलो प्रणालीलाई नै प्राथमिकता दिनुपर्ने विज्ञ बताउँछन् ।