के इरान विश्वकप खेल्न अमेरिका पुग्ला ?

जेष्ठ १६, २०८३ |सुवास रोकाया
के इरान विश्वकप खेल्न अमेरिका पुग्ला ?

काठमाडौं । इरान विश्वकपमा सहभागी बन्दैन ? 

सन २०२६ को फिफा विश्वकप सहआयोजक अमेरिकाले इरानलाई भिसा दिन्छ होला ? युद्ध गरिरहेको अवस्थामा इरानले अमेरिकामा गएर कसरी प्रतियोगिता खेल्छन् ? आउँदो जुन ११ मा उत्तर अमेरिकाको तीन देशमा सुरु हुने फिफा विश्वकपबारे यस्ता धेरै प्रश्नलाई चिर्दै फिफा अध्यक्ष जियान्नी एन्फान्टिनोले इरान सहजै सहभागी बन्ने बताएका थिए । 

त्यति मात्रै होइन फिफाले त अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पलाई विश्व शान्ति पुरस्कार पनि प्रदान गरिसकेको छ । तर, अवस्था ठीक उल्टो छ । इरान र अमेरिका युद्धरत छन् । यस्तोमा इरानको फिफा विश्वकप सहभागीतालाई लिएर अझैसम्म पनि शंका कायमै छ । अर्कोतर्फ इरान अहिले विश्वकपका लागि अन्तिम चरणको अभ्यास गरिरहेको छ ।

इरानको विश्वकप इतिहासमा केही यस्ता क्षण छन् जहाँ फुटबलको प्रतिस्पर्धाभन्दा मानवीयताका दृष्टिकोण अघि आउँछन् । सन् १९९८ को फ्रान्स विश्वकपमा इरान र अमेरिकाबीचको खेललाई अझै सफ्ट पोलिटिक्सको पर्याय मानिन्छ । फुटबलले जितेको खेल’ भनेर व्याख्या गरिने यो खेलमा इरानी खेलाडीले अमेरिकी टोलीलाई शान्तिको प्रतीक सेतो फूल दिएका थिए । 

विश्वकपमा इरानका दुर्लभमध्ये त्यही दिन अमेरिकाविरुद्ध निकालेको २-१ को जित अझैसम्म ख्यातिप्राप्त छ । त्यसको २८ वर्षपछि फेरि त्यस्तै अवसर फर्किएको छ । आफ्ना सर्वोच्च नेता आयतुल्लाह खामेनेइको हत्या गरेपछि इरानले फिफा विश्वकप खेल्न अमेरिका नजाने बताएको थियो । 

तर, अहिले लचकता देखाउँदै विश्वकपका लागि अन्तिम तयारी गरिरहेको इरानी फुटबलले राजनीतिभन्दा खेलमाथि भएको सन्देश दिएको छ । अर्कोतर्फ, मोजतबा खामेनेई र ट्रम्पले आआफ्नो अडान नछोड्दाको परिणामस्वरुप विश्व अर्थतन्त्र अनियन्त्रित छ । 

फिफा विश्वकप आफैंमा आर्थिक र पर्यटनको रुपान्तरणकारी प्रतियोगिता मानिन्छ । यस्तोमा इरानको सहभागीताले मात्रै ठूलो अर्थ राख्छ । एसियाली फुटबलको जायन्ट इरान अहिले सातौं विश्वकप खेल्दैछ । पर्सियन भाषामा टिम मेल्ली अर्थात् इरानी राष्ट्रिय टिमले सन् १९७८ मा अर्जेन्टिनाबाट आफ्नो विश्वकप यात्रा सुरु गरेको थियो । 

डेब्यूपछि उसले सन् १९९८, २००६, २०१४, २०१८ र २०२२ को विश्वकप खेलिसकेको छ । महादेशीयस्तरमा तीन पटक एसियन कप च्याम्पियन इरान फिफा विश्वकपमा भने समूह चरणमै सीमित हुँदै आएको छ । सन् २०२६ को विश्वकपका लागि इरानको छनोट यात्रा प्रभावशाली रह्यो । 

दोस्रो चरणमा हङकङ र तुर्कमेनिस्तानलाई हराउँदै अघि बढेको इरानले तेस्रो चरणको निर्णायक खेलमा २५ मार्च २०२५ मा उज्बेकिस्तानसँग २-२ को बराबरी खेल्दै आफ्नो स्थान सुरक्षित गरेको हो । प्रशिक्षक अमिर घालेनोईको नेतृत्वमा रहेको इरानले छनोटका १६ खेलमध्ये मात्र एक खेलमा हार बेहोरेको थियो।

इरानको इतिहासमै सबैभन्दा उत्कृष्ट विश्वकप प्रदर्शन सन् २०१८ को रुस विश्वकपलाई मानिन्छ । स्पेन, पोर्चुगल र मोरक्को जस्तो कठिन समूहमा रहेर पनि इरानले मोरक्कोलाई हरायो र पोर्चुगललाई बराबरीमा रोक्दै नकआउट चरणको नजिक पुगेको थियो ।

यस पटकको टोलीमा अनुभवी स्ट्राइकर मेहदी तारेमी मुख्य आकर्षण हुनेछन् । उनी इरानका लागि सर्वाधिक गोल गर्ने खेलाडीको दोस्रो नम्बरमा छन् । जसले ५७ गोल गरिसकेका छन् भने विश्वकपमा एकभन्दा धेरै गोल गर्ने एक्ला खेलाडी हुन् । त्यस्तै, टोलीमा कप्तान एहसान हाजीसाफी र स्ट्राइकर सरदार आजमुनको उपस्थितिले इरानको आक्रमणलाई बलियो बनाउनेछ । 

यो विश्वकपले इरानी समर्थकको मुहारमा मुस्कान ल्याउने आशा गरिएको छ । त्यस्तै मुस्कान जो सन् २०२२ को कतार विश्वकपमा वेल्सविरुद्ध इन्जुरी समयको अन्तिम मिनेटको जितमा निस्किएको थियो । जहाँ २-० को जितले इरानी समर्थकलाई रोमाञ्चक बनाएको हो ।

इरान यसपटक समूह ’जी’ मा बेल्जियम, इजिप्ट र न्यूजिल्यान्डसँगै रहेको छ । इरानको पहिलो खेल १५ जुनमा न्यूजिल्यान्डविरुद्ध हुनेछ भने २१ जुनमा बेल्जियम र २६ जुनमा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ । तर, अहिले भिसाको कठिनाइका कारण इरानले बन्द प्रशिक्षण अमेरिकाको एरिजोनाबाट मेक्सिकोमा सार्नुले फेरि अर्को शंकाको जन्म भएको छ । 

यो घटनाले फेरी एकपटक इतिहासतिर फर्काउन सहयोग गर्छ, जहाँ हामीसँग फुटबल डिप्लोमेसीका प्रसस्तै उदाहरण छन् । पहिलो विश्व युद्धका दौरान सन् १९१४ मा ब्रिटिस र जर्मन सेनाले नो मेन्स लेन्डमा युद्ध रोकेर फुटबल खेलेका थिए । सन् १९६८ मा ब्राजिलियन लिजेन्ड पेलेको खेल हेर्न नाइजेरियामा २ दिनका लागि गृहयुद्ध रोकियो । 

सन् २००७ मा फिफा विश्वकप छनोट भएको उपलक्ष्यमा डिडियर ड्रोग्वाको आह्वानमा आइभरी कोस्टमा सिभिल वार रोकिएको थियो । अमेरिकामा विश्वकप आयोजना हुँदै गर्दा र इरान सहभागी बन्दै गर्दा यस्तै शान्तिस्थापना र सहकार्यको अपेक्षा गरिएको छ । त्यसो त गत शुक्रबार ट्रम्पले अस्थाई युद्धविरामको घोषणा गरेका छन् । आशा छ यो युद्धविराम स्थायी होस् ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।