बालुवाटार-भंगाल : के बन्दैछ ओली-विद्याको काउन्टर रणनीति ?

श्रावण १४, २०८२ |विकास आचार्य|दशरथ राई
बालुवाटार-भंगाल : के बन्दैछ ओली-विद्याको काउन्टर रणनीति ?

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि सुरू भएको नेकपा एमालेभित्रको अन्तरकलह अझै साम्य भएको छैन । एमाले केन्द्रीय कमिटीले पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेपछि अब कसरी अघि बढ्ने भन्ने रणनीति बनाउन भण्डारी र उहाँ निकट नेताहरू लागेका छन् । 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली भने भण्डारी समूहले तयार पार्ने रणनीति असफल बनाउने ध्याउन्नमा हुनुहुन्छ । अहिले प्रधानमन्त्री ओलीले एमालेका जिल्लादेखि केन्द्रसम्मका नेताहरूलाई बालुवाटारमै बोलाएर भण्डारीको सक्रियता रोक्न निर्देशन दिइरहनुभएको छ । अर्कोतर्फ पूर्वराष्ट्रपति भण्डारीले आफ्नै निवास भंगालमा रणनीतिक छलफल गरिरहनुभएको छ । 

एक महिना भयो नेकपा एमालेको राजनीतिमा तुफान आएको र अझै थामिएको छैन । यसले कति विनाश गर्ने हो हेर्नै बाँकी छ । तर बालुवाटार र भंगालमा काउन्टर रणनीतिहरु बनिरहेका छन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत असार १४ गते सक्रिय राजनीतिमा फर्किने घोषणा गरेको श्रावण १४ गते एक महिना भयो । यो एक महिनामा पार्टी भित्र सुरू भएको हलचल सामान्य होइन एकले अर्कालाई सिध्याउने खालको छ । 

एक महिनामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीको पार्टी प्रवेशको सबै ढोका बन्द गरिदिनु भएको छ । त्यसको प्रतिउत्तरमा भण्डारीले मेरो सदस्यता कसैले खान नसक्ने भन्दै काउन्टर रणनीति बनाउन थाल्नु भएको छ । भण्डारीको रणनीति निस्तेज पार्न ओली दिनरात मिहिनेत गरिरहनु भएको छ ।

भण्डारीले एमालेको पार्टीको ११औँ महाधिवेशनबाट नेतृत्वमा पुग्ने आकांक्षा राखेपछि अध्यक्ष केपी शर्मा ओली चिढिनुभएको हो । एमालेका नेताहरूमा एक अर्काको गतिविधी राजनीतिक नोटिसमा लिने र निषेध गर्ने राजनीति चलिरहेको छ । अध्यक्ष ओलीले साउनको पहिलो हप्ता बसेको केन्द्रीय कमिटीको बैठकबाटै निर्णय गराएर भण्डारीको सदस्यता नविकरण नै वैध नभएको घोषणा गरिदिनुभयो ।

केन्द्रीय कमिटीले गरेको निर्णयलाई काउन्टर दिँदै पूर्वउपाध्यक्षको हैसियतमा भण्डारीले पत्रकार सम्मेलन गरेर ४५ वर्षअघि तत्कालिन पार्टी महासचिव मदन भण्डारीले दिएको एमालेको सदस्यता कसैले खान नसक्ने अभिभव्यक्ति सार्वजनिक गर्नुभयो । 

त्यसयता अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीले पार्टीको विषयलाई लिएर सार्वजनिक अभिब्यक्ति दिएका छैनन् । तर भित्रभित्रै दुबैले रणनीतिक तयारी गरिरहेका छन् । पछिल्लो समय पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ–बिहान आफूनिकटका नेताहरूलाई बोलाएर भण्डारीका गतिविधि रोक्न निर्देशन दिइरहनुभएको छ । 

ओलीले सातै प्रदेशका इन्चार्ज, अध्यक्षसहित पदाधिकारीसँग छलफल गरिसक्नुभएको छ । समानान्तर गतिधिवि हुन नदिनसमेत उहाँले निर्देशन दिनुभएको छ । भण्डारी निकट नेताहरूलाई समेत बोलाएर फकाउने, सम्झाउने र नमाने कारबाही गर्ने चेतावनीसमेत अध्यक्ष ओलीले दिने गर्नुभएको छ । त्यतिले मात्र नपुगेर अन्तरपार्टी निर्देशन दिँदै पार्टीको नीतिविपरीतका गतिविधि भए कारबाही गर्न समेत उहाँले निर्देशन दिनुभएको छ ।

भण्डारीले पनि निवासमै बसेर समानान्तर गतिविधिलाई निरन्तरता दिँदै आउनुभएको छ । उहाँले आफू निकट नेताहरूसँग छलफल गरेर आगामी रणनीतिसमेत बनाइरहनुभएको छ । 

सकेसम्म एमालेको आगामी महाधिवेशनबाटै नेतृत्वमा पुग्ने उहाँको चाहना छ । भण्डारीले भङ्गालमै बसेर केन्द्रीय पदाधिकारी, प्रदेशका इन्चार्ज देखि जिल्ला तहका नेतृत्वसँग आफ्नो तयारीबारे खुलस्त बताउने गर्नुभएको छ । 

उहाँले पार्टीका नेताहरूसँग मात्र होइन, अधिकारकर्मीहरू र नागरिक समाजका अगुवाहरूसँग पनि परामर्श गरिरहनुभएको छ । नेकपा एमालेमा अहिले बालुवाटार - भङगाल रणनीति विशेष चर्चामा छ ।

दुवै जना एकले अर्कालाई रोक्ने रणनीतिका साथ प्रस्तुत भइरहँदा कार्यकर्तामा भने अन्योल छ । पार्टी नेताहरू पनि दुई धारमा विभाजित हुँदै गएका छन् । गाउँगाउँमा कार्यकर्ता भने पार्टीमा के भएको होला भनेर पुर्पुरोमा हात लाएर बस्नुपर्ने स्थितिमा पुगेका छन् ।


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।

Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।