
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतगणना अपडेट आउने क्रम जारी छ ।
मतगणनाको अहिलेसम्मको अपडेटअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको रूझान देशभर देखिएको छ । काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसले दोस्रो स्थानमा चित्त बुझाउँदा एमालेको जमानत जफत भएको छ । यस्तै अन्य क्षेत्रमा पनि कांग्रेस एमाले दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धी भएका छन् ।
सर्लाही क्षेत्र नं ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाका अमरेश कुमार सिंहभन्दा पछि पर्नुभएको छ । यस्तै कांग्रेसकै शेखर कोइरलालाई रास्वपाकी रूबिना आचार्यले मोरङ क्षेत्र नं ६ मा ठूलो मतान्तरले पछि पार्नुभएको छ । यस क्षेत्रमा एमालेका विनोद ढकाल तेस्रो स्थानका लागि संघर्ष गरिरहनुभएको छ ।
यता कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धा गर्दै आएको डडेल्धुरामा रास्वपाका ताराप्रसाद जोशीलाई कांग्रेसका नैनसिंह महरले पछ्याउँदै हुनुहुन्छ । अछाममा नेकपाका भीम रावलले सुरुवाती अग्रता लिँदा उहाँलाई नेपाली कांग्रेसका भरतकुमार स्वाँरले पछ्याइरहनुभएको छ ।
कांग्रेस नेता पूर्णबहादुर खड्का उठ्दै आएको सुर्खेत १ मा कांग्रेसका विष्णुबहादुर खड्का अगाडि हुनुहुन्छ भने एमाले दोस्रो, रास्वपा तेस्रो स्थानका लागि संघर्ष गरिरहेका छन् । गुल्मी १ मा रास्वपाका सागर ढकाल अगाडि हुँदा एमालेका प्रदीप ज्ञवाली दोस्रो र कांग्रेसका चन्द्र भण्डारी तेस्रो स्थानमा हुनुहुन्छ।
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन अगाडि हुँदा एमाले दोस्रो, कांग्रेस चौथो स्थानमा रहेका छन् । रुकुम पश्चिममा प्रगतिशिल लोकतान्त्रिक पार्टीका जनार्दन शर्मा अगाडि हुँदा कांग्रेस तेस्रो र रास्वपा चौथो स्थानमा रहेको छ । यसैगरी चितवन क्षेत्र नं. २ मा रास्वपाका रवि लामिछानेले फराकिलो मतान्तर कायम गर्नुभएको छ । रास्वपालाई कांग्रेस एमालेले पछ्याइरहेका छन् ।
यस्तै चितवन ३ मा रास्वपाकी सोविता गौतम दोब्बरभन्दा बढी मतले अगाडि हुँदा नेकपा दोस्रो, एमाले तेस्रो र कांग्रेस चौथो स्थानमा रहेका छन् । नेपाल मजदुर किसान पार्टीको गढ मानिएको भक्तपुर १ मा रास्वपा नेमकिपाभन्दा दोब्बर मतले अगाडि छ भने भक्तपुर २ पनि रास्वपाकै राजीव खत्री अगाडि हुँदा एमालेका महेश बस्नेत ठूलो मतान्तरले पछि हुनुहुन्छ ।
धनुषा ३ मा रास्वपाका मनिष झाले तेब्बर मतसहित अग्रता दिँदा कांग्रेसका विमलेन्द्र निधि दोस्रो र एमालेकी जुलिकुमार महतो तेस्रो स्थानमा हुनुहुन्छ । यस्तै झापा ५ मा रास्वपाका बालेन्द्र शाहले फराकिलो मतान्तरले एमाले अध्यक्ष केपी ओलीलाई पछि पार्नुभएको छ ।
झापाकै क्षेत्र नं २ मा पनि रास्वपाकी इन्दिरा रानामगर एमालेका देवराज घिमिरेभन्दा अघि हुनुहुन्छ । यस्तै झापाकै अन्य क्षेत्रमा पनि रास्वपाले अग्रता लिँदा कांग्रेस एमाले र राप्रपाले पछ्याइरहेका छन् । सुनसरी १ मा रास्वपा अगाडि हुँदा श्रम संस्कृति पार्टी पछि परेको छ भने एमाले छैटौं स्थानमा रहेको छ । उता रौतहट १ मा पनि रास्वपाका राजेश चौधरी अगाडि हुँदा नेकपाका माधव नेपाल पाचौं स्थानमा हुनुहुन्छ ।