
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृत कार्यालयहरुका अनुसार आज बिहानसम्म देशभरका प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये ३४ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अग्र स्थानमा रहेका छन् ।
यसैगरि एमालेले ५ स्थानमा र कांग्रेसले २ स्थानमा अग्रता लिएको छ । नेकपा एक स्थानमा अगाडि रहेको छ ।
सर्वाधिक चासो रहेको झापा क्षेत्र नम्बर ५ को प्रारम्भिक गणनाको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक गणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिनुभएको छ । यता काठमाडौं ३ मा उज्यालो नेपालका कुलमान घिसिङलाई पछि पार्दै राजु पाण्डे अघि लाग्नु भएको छ । ललितपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उदय शमशेर राणले अग्रता लिनुभएको छ ।
काठमाडौं-१० मा रास्वपाका उम्मेदवार प्रदीप विष्टले अग्रता लिनुभएको छ ।
देशका विभिन्न स्थानमा मतपेटिका संकलनमा ढिलाइ हुँदा धेरै क्षेत्रमा मत गणना सुरु भएको छैन । हिजो साँझ मतदान सम्पन्न भएर मतपेटिका संकलन भइसकेका अधिकांश क्षेत्रमा आज बिहान सर्वदलीय बैठक बसेर गणनाको तयारी भइरहेको हाम्रा संवाददाताहरुले जानकारी दिएका छन् । त्यसैगरी विकट क्षेत्रका केन्द्रहरुबाट भने आज मात्र मतपेटिका संकलन गर्ने तयारी भइरहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
काठमाडौं उपत्यका र उपत्यका बाहिरका केही सहरी क्षेत्रमा भने गएराति नै मत गणना सुरु भएको हो ।