७० वर्षे उमेर हद र दुई कार्यकालको सीमामा एमाले पदाधिकारीबीच कित्ताकाट, पोलिटब्यूरो बैठकमा पनि पक्ष विपक्षमा बहस

संशोधन प्रस्ताव पारित गराउने संस्थापनको रणनीति
श्रावण २, २०८२ |दीपक आचार्य
७० वर्षे उमेर हद र दुई कार्यकालको सीमामा एमाले पदाधिकारीबीच कित्ताकाट, पोलिटब्यूरो बैठकमा पनि पक्ष विपक्षमा बहस

काठमाडौं । ७० वर्षे उमेर हद र अध्यक्षमा दुई कार्यकालको प्रावधान यति बेला नेकपा एमालेभित्र पेचिलो बनेको छ । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनले पहिल्यै ध्रुवीकृत एमाले वृत्तमा अहिले यी दुई प्रावधानले चर्को विवाद उत्पन्न गराएको छ । संस्थापन पक्षले यी दुवै प्रावधान हटाएर उपाध्यक्ष विष्णु पौडेलले सचिवालय बैठकमा पेस गरेको विधान संशोधन प्रस्ताव पोलिटब्यूरोबाट पनि अघि बढिसकेको छ । अध्यक्षमा दुई कार्यकाल र ७० वर्षे उमेर हदको प्रावधान एमालेमा कसरी स्थापित भएको थियो र कसरी हटाइँदै छ ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको ११औं महाधिवेशनबाट तेस्रो कार्यकाल पनि अध्यक्ष बनेर नेतृत्व गर्ने ध्याउन्नमा हुनुहुन्छ । तेस्रो पटक अध्यक्ष हुनकै लागि उहाँले सचिवालय बैठकबाट आगामी भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा पेस हुने विधानबाट ७० वर्षीय उमेर हद र दुई कार्यकालको व्यवस्था नै हटाइदिनुभएको छ ।

केन्द्रीय समिति बैठकमा पनि त्यो प्रस्ताव प्रस्तुत गरेर बहुमतले पारित गराउने पक्षमा उहाँ हुनुहुन्छ । पार्टीकै सिफारिसमा दुई कार्यकाल राष्ट्रपति बन्नुभएकी विद्यादेवी भण्डारीले राजनीतिक पुनरागमनका लागि एमालेको पार्टी सदस्यता नै नवीकरण गरेपछि एमालेमा प्रस्ट दुई धार देखापरेको छ । 

ओली पक्ष भण्डारीलाई रोक्न लागिपरेको छ । भण्डारी समूहका नेताहरू ७० वर्षीय उमेर हद र अध्यक्षमा दुई कार्यकाल मात्र रहने विधानको प्रावधानलाई नै निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

ओलीकै संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनको सुझावका आधारमा बुटवलमा सम्पन्न एमालेको आठौं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा दुई कार्यकालको व्यवस्था गरिएको थियो । 

स्थायी समिति हुँदै यो प्रावधान महाधिवेशन हलबाट सर्वसहमतिले पारित गरिएको थियो । तर अहिले तेस्रो कार्यकाल पनि अध्यक्ष हुनका लागि ओली विधान नै परिवर्तन गरेर अघि बढ्नुभएको हो ।

ओलीले नै जनकपुरमा भएको पार्टीको सातौं महाधिवेशनमा बहुपदीय प्रणाली र आन्तरिक प्रतिस्पर्धाको विषय जोडतोडका साथ उठाएकाले बुटवल महाधिवेशनबाट पार्टी बहुपदीय प्रणालीमा समेत प्रवेश गरेको थियो । यसअघि महासचिव प्रणालीमा भएको पार्टी अध्यक्ष प्रणालीमा गएको थियो ।

बुटवल महाधिवेशनमै ओलीले अघि सारेर पारित भएको ७० वर्षीय उमेर हदका कारण काठमाडौंमा सम्पन्न नवौं महाधिवेशनबाट सहाना प्रधान, भरतमोहन अधिकारी र सिद्धलाल सिंहले पार्टीको सक्रिय राजनीतिबाट बिदा लिनुपरेको थियो । 

पार्टीमा परिवर्तनका सूत्रधार ओली अहिले आफैं आन्तरिक प्रतिस्पर्धा रोक्ने, टीके प्रथा सुरू गर्ने, तेस्रो कार्यकाल अध्यक्ष बन्नका लागि आफैंले प्रस्ताव गरेका प्रावधान उल्ट्याउने काममा लाग्नुभएको छ । यो प्रस्ताव सचिवालय हुँदै पोलिटब्यूरो र केन्द्रीय कमिटीबाट पारित भएमा ओलीका लागि तेस्रो पटक अध्यक्ष बन्न बाटो खुला हुनेछ ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।