दाहालको दोहोरो चरित्र, बेलगाम अभिव्यक्तिले समग्र पार्टी नै अलमलमा !

असार ५, २०८२ |दशरथ राई
दाहालको दोहोरो चरित्र, बेलगाम अभिव्यक्तिले समग्र पार्टी नै अलमलमा !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्‍मा दोहोरो भूमिका निर्वाह गर्दै आएको छ । कहिले चर्को प्रतिपक्षी जस्तो देखिने त कहिले सत्तारूढ दलसँग 'हो मा हो' मिलाउने गरेको नेतृत्वको शैली पार्टीभित्रै आलोचित छ । 

पार्टीभित्र बढेको विवाद, सदनमा उपस्थिति र विपक्षीहरूसँगको सम्बन्धलाई लिएर पनि माओवादी नेतृत्वमाथि प्रश्न उठेको हो । पछिल्लो पटक भिजिट भिसा प्रकरणमा सत्तारुढ दलसँग गरिएको दुई बँदे सहमतिलाई लिएर पनि माओवादीभित्र विवाद र अन्योल देखिएको छ । यो अन्योलमा स्वयं माओवादी अध्यक्ष पुष्पकमल दाहल समेत हुनुहुन्छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार चितवनमा पुगेर भन्नुभयो, हामी प्रतिपक्षमा छौं तर सत्तापक्षको पनि भुमिका निर्वाह गरिरहनु परेको छ । भिजिट भिसा प्रकरणमा सत्तारुढ दलसँग दुई बुँदे सहमति गरेपछि आलोचनाको सामना गरिरहेका अध्यक्ष दाहालले व्यवस्था बचाउन र संविधान तथा कानुन संशोधनका लागि आफूहरूले सत्तापक्षको पनि भूमिका निर्वाह गर्नुपरेको तर्क गर्नुभएको हो । तर उहाँको यो तर्कमा नागरिकका प्रश्नै प्रश्न छन् । 

के उहाँ साँच्चै व्यवस्था बचाउन लचिलो हुनुभएको हो वा उहाँ नेपाली कांग्रेससँग नजिकिन खोज्दै हुनुहुन्छ ? अझ यो भन्दा पनि अहम प्रश्न कि उहाँलाई लाग्ने गरेको आरोप जस्तै उहाँ दोहोरो चरित्रको हुनुहुन्छ ? यो प्रश्न उहाँको कार्यशैलीलाई लिएर पार्टी भित्र पनि उठिरहेको छ ।

११ महिनाअघि सरकारबाट बाहिरिएपछि माओवादी केन्द्रले दाहालकै नेतृत्वमा गत फागुन ११ गतेदेखि जनतासँग पुग्ने भन्दै हुलाकी राजमार्ग केन्द्रीत अभियान चलायो । तर राजावादीहरूले काठमाडौंमा हिंसात्मक प्रदर्शन गर्न थालेको भन्दै अभियान पटकपटक रोकियो । 

बल्लतल्ल यो अभियान सकेर फेरि दोस्रो चरणको मध्यपहाडि राजमार्ग केन्द्रीत अभियान थालेको माओवादी केन्द्रले अहिले सदनमा केन्द्रित हुनुपर्ने भन्दै फेरी रोकेको छ । दाहालले पार्टीका आन्तरिक कार्यक्रमसमेत प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको आरोप पनि खेप्नुपरिरहेको छ ।

त्यसो त पछिल्ला दिनमा माओवादी केन्द्रको आन्तरिक विवाद पनि सतहमा आउन थालेको छ । केही दिनअघि भएको वाइसीएलको महाधिवेशनमै गुटगत विवाद मिलाउन विधान नै संशोधन गरेर ३५ सदस्यीय पदाधिकारीलाई दोब्बर भन्दा बढी ७५ सदस्यीय बनाइएको छ । 

माओवादीका अरू भ्रातृ संस्थाहरुमा पनि विवाद छ । पार्टीमा यस्ता विषय उठान गर्नेहरूलाई पार्टी नै छाड्न धम्की दिएको घट्ना उपमहासचिव जनार्दन शर्माले नै सार्वजनिक गर्नु भएको छ । तर अध्यक्ष दाहाल ढाकछोप गर्दै भन्नुहुन्छ, सतहमा आएजस्तो केही भएको छैन ।

अध्यक्ष दाहालले कहिले आफ्नो पार्टीमा चुम्वकीय शक्ति रहेको दाबी गर्दै आउनुभएको छ त कहिले वर्तमान सरकार ढाल्ने अभिव्यक्ति दिँदै आउनुभएको छ । उहाँको बेलगाम बोलीमा स्पष्टीकरण दिन अरू नेतालाई नै हम्मेहम्मे परिरहेको छ । 

दाहालको दोहोरो चरित्र, बेलगाम अभिव्यक्ति र योजनाविनै एकतर्फी निर्णयले समग्र पार्टी नै अलमलमा परेको देखिन्छ । त्यसो त पछिल्लो समय उहाँ नेपाली कांग्रेस प्रति आवश्यक भन्दा बढी लचिलो बन्दै गएको आरोप पनि छ ।


Image

दशरथ राई

राई कान्तिपुर टेलिभिजनको समाचार विभागमा कार्यरत छन् ।