बागमती प्रदेशका मुख्यमन्त्री कांग्रेस शीर्ष नेताहरूसँग छलफलमा

श्रावण १०, २०८२ |बालकृष्ण अधिकारी
बागमती प्रदेशका मुख्यमन्त्री कांग्रेस शीर्ष नेताहरूसँग छलफलमा

मकवानपुर । राजीनामा दिएका चार जना मन्त्रीलाई बर्खास्त गरेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा काठमाडौंमा छलफलमा जुट्नुभएको छ । मुख्यमन्त्री लामा आफू निकट सांसदहरूसहित नेपाली कांग्रेसका शीर्ष नेताहरूसँगको भेटघाटमा जुट्नुभएको हो ।

मुख्यमन्त्री लामाले संविधानको धारा १६९ को उपधारा २ को ‘ख’ बमोजिम चार जना मन्त्रीलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयलाई पठाउनुभएको थियो । उहाँले आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई बर्खास्त गर्नुभएको हो । 

मुख्यमन्त्री लामासमक्ष हिजो दिउँसो ह्वाट्सएपमार्फत मन्त्रीहरूले राजीनामा दिएका थिए । यसैबीच मुख्यमन्त्री लामाले २१ जना प्रदेश सभा सदस्यले नेपाली कांग्रेस संसदीय दलको सचिवालयमा बुझाएको अविश्वास प्रस्तावको सामना गर्ने बताउनुभएको छ । मुख्यमन्त्री लामाले रिक्त भएका मन्त्रालयमा असन्तुष्ट प्रदेश सभा सदस्यलाई फकाएर मन्त्री दिने र सत्ता टिकाउने रणनीति बनाउनुभएको उहाँ निकट नेताहरूले बताएका छन् ।

त्यसअघि प्रदेश सभा सचिवालयका सचिव कृष्ण तामाङलाई कांग्रेसका २१ जना प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव बुझाइएको थियो । बागमतीमा ३७ जना प्रदेश सभा सदस्य रहेको कांग्रेसको संसदीय दलको नेता बन्न १९ मत आवश्यक हुन्छ । बजेट विवाद उत्कर्षमा पुग्दा बागमतीमा कांग्रेस प्रदेश सभा सदस्यहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् । 

संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था अनुसार लामालाई मुख्यमन्त्रीबाट हटाउनको लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

प्रदेश राजधानी हेटौंडाबाट गत असार २४ गते मुख्यमन्त्री लामा काठमाडौं आउनुभएको थियो । त्यसपछि उहाँ एक साता विदेश भ्रमणमा गएर साउन ५ गते फर्किनुभएको छ । त्यसलगत्तै उहाँले बूढानीलकण्ठ पुगेर पार्टी सभापति शेरबहादुर देउवासँग भेट गर्नुभएको थियो । उहाँ अझै हेटौंडा फर्किनुभएको छैन ।

काठमाडौंमा रहँदा मुख्यमन्त्री लामाले परराष्ट्रमन्त्री आरजु राणा, पार्टी प्रवक्ता प्रकाशशरण महत, नेता शेखर कोइराला, महामन्त्री गगनकुमार थापा लगायतसँग भेट गर्नुभएको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।