काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई छानबिनको दायराभित्र ल्याउनुपर्ने माग गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफूलाई पहिला नै प्रधानमन्त्रीकै मिलेमतो भएको हुनसक्ने आशंका रहे पनि आधार नरहेको तर अहिले राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरूको क्रियाकलपाका कारण प्रधानमन्त्री नै संलग्न भएको आधार पुष्टि भएको जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “तपाईंहरूले देख्नुभएको छ । अहिले जालझेल, ठगी, भ्रष्टाचार, बेइमानी सरकारको परिभाषा जस्तो भएको छ । अहिलेको सरकार भनेकै त्यस्तै हो । जसरी संघीय निजामती ऐन सुन्नुभएको छ । कुलिङ अफ पिरियड दुई वर्ष सर्वसम्मत भएको हो । सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा पहिला भन्दा त सबैले संशोधन राख्ने दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा भन्ने थियो । तर अहिले त्यो राख्न हुँदैन भनेर लास्टमा गएपछि चिज के रहेछ भन्नेकुरा बिरालोले अन्तिममा म्याउँ गरिछोड्यो भन्ने कुरा जस्तो एमालेले म्याउँ गरी नै हाल्यो ।”
उहाँले यसको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताउनुभयो । “छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ हामीले भनेका छौं । हाम्रा माननीय सदस्यहरूले सदनमा पनि उठाउनुभएको छ”, उहाँले भन्नुभयो ।