हेटाैँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका चारजना मन्त्रीको राजीनामा स्वीकृत नगरी पदबाट बर्खास्त गर्नुभएको छ ।
मुख्यमन्त्री लामाले संविधानको धारा १ सय ६९ को उपधारा २ को 'ख' बमोजिम चारजना मन्त्रीलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयलाई गएराति पठाउनुभएको हो । मुख्यमन्त्री लामाले आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारणमन्त्री मदु कुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई बर्खास्त गर्नुभएको हो ।
मुख्यमन्त्री लामालाई हिजो दिउँसो ह्वाट्स एपमार्फत राजीनामा दिएका मन्त्रीहरू बर्खास्तीमा परेका हुन् । यसैबीच मुख्यमन्त्री लामाले २१ जना संसद्ले नेपाली कांग्रेस संसदीय दलको सचिवालयमा बुझाएको अविश्वास प्रस्तावको सामना गर्ने बताउनुभएको छ । मुख्यमन्त्री लामाले रिक्त भएका मन्त्रालयमा असन्तुष्ट सांसदलाई फकाएर मन्त्री दिएर सत्ता टिकाउने रणनीति बनाउनुभएको छ ।
त्यसअघि संसद् सचिवालयका सचिव कृष्ण तामाङलाई कांग्रेसका २१ जना सांसदहरूको हस्ताक्षरसहितको अविश्वासको प्रस्ताव बुझाइएको थियो । बागमतीमा ३७ जना प्रदेश सभा सदस्य रहेको कांग्रेसको संसदीय दलको नेता बन्न १९ मत आवश्यक हुन्छ । बहुमत सदस्यहरूको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
बजेट विवाद उत्कर्षमा पुग्दा बागमतीमा कांग्रेस सांसदहरू सरकारको नेतृत्व परिवर्तन गर्ने पक्षमा पुगेका हुन् । संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था अनुसार लामालाई मुख्यमन्त्रीबाट हटाउनको लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।