काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले नेपालको मुख्य दुश्मन राजतन्त्र नभएको बताउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन नभएको बताउनुभयो ।
उहाँले नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरूले विध्वंश मच्चाइरहेको बताउनुभयो । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरूले आफ्नो कब्जामा लिएको उल्लेख गर्नुभयो । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको जिकिर गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरू, केही थोरैले नेपाल राज्यलाई विध्वंश पार्दैछन् । नेपालको अर्थतन्त्रलाई, नेपालको विकास प्रक्रियालाई केही मुठीभर दलालहरूले आफ्नो कब्जामा लिएका छन् । आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य वाधक भएको छ ।”
उहाँले संघीय निजामति विधेयकमा सबै सांसद अपमानित हुनेगरी चलखेल र छेडखानी कसले गर्यो भन्दै प्रश्न पनि गर्नुभयो । उहाँले अदालत, कर्मचारीतन्त्र सबैतिर भ्रष्टाचार भएको भन्दै यसका विरुद्ध लड्नुपर्ने बताउनुभयो । “अहिले नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र मुख्य दुश्मन छैन । उठ्न जमर्को गरे पनि त्यो उठ्नेवाला पनि होइन”, उहाँले भन्नुभयो ।