कञ्चनपुर । सात वर्षसम्म नरोकिएको परिवारको आँसु । न्यायको पक्षमा निरन्तर उठिरहेका आवाज । तर, मौन राज्य ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको जबर्जस्ती करणीपछि हत्या भएको सात वर्ष पूरा भएको छ, तर दोषी अझै पत्ता लाग्न सकेको छैन । अब त परिवारमा राज्यप्रति आशा- भरोसा नै मरिसकेको छ ।
घटनाको अनुसन्धान राज्यको प्राथमिकतामै पर्न छाडेको छ । कहिले पत्ता लाग्ला अपराधी ? जन-जनको प्रश्न यही छ ।
२०७५ साउन १० गते, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त साथीको घरमा पढ्न जान्छु भनेर निस्किन्छिन् । तर भोलिपल्ट सालघारीको उखुबारीमा उनको शव भेटिन्छ, जबर्जस्ती करणीपछि हत्या गरिएको अवस्थामा । निर्मलाको अस्मिता लुटिएको थियो । र न्यायको आधार बन्नुपर्ने प्रमाणहरू, जानेर हो या नजानेर, राज्य संयन्त्रकै हातबाट पखालिए । घटनास्थलमा प्रमाणहरू मेटाइयो, डीएनए र पोस्टमार्टम रिपोर्टमा एकरूपता देखिएन । सडक, सदन र सामाजिक सञ्जाल ताते । न्यायिक आन्दोलनमा एक अर्का निर्दोष बालक सन्नी खुना मारिए । दर्जनौं घाइते भए । तीमध्ये केही त अङ्गभङ्ग नै । अहिलेसम्म न्याय मात्रै मरेन, सात सात वर्षसम्म पनि अपराधी पत्ता लगाउन नसक्ने राज्यप्रति अब त परिवारको आशा भरोसा नै मरिसक्यो ।
यी सात वर्षमा न्यायका लागि रोइकराइ गर्दा गर्दा अब त दुर्गादेवीका आँखाका आँसुहरू पनि न्याय नपाउने देखेपछि सुकेझैं लाग्छन् । निर्मलाको घटनाले दुर्गादेवीलाई मात्रै होइन, आम नागरिकलाई देशको न्याय प्रणालीप्रति भरोसा हराउँदै गएको छ । यस अवधिमा हालसम्म सयौं व्यक्तिहरूलाई नियन्त्रणमा लिइयो, सोधपुछ गरियो, केरकार गरियो, केहीलाई त थुनामै पनि राखियो । तर आज सात वर्ष बित्दा पनि वास्तविक अपराधी को हो ? भन्ने प्रश्न अझै अनुत्तरित छ । अब त यो घटनाको अनुसन्धान राज्यको प्राथमिकताबाट हटेझैं लाग्छ । तर नेपाल प्रहरीका अधिकारी भन्छन्, "२० वर्षसम्म त यसको हदम्याद नै हुन्छ । अनुसन्धान जारी छ ।"
अहिले कञ्चनपुर क्षेत्र नम्बर–३ बाटै निर्वाचित रमेश लेखक, जसले सात वर्षअघि उक्त घटना हुँदा सडकमा भइरहेको आन्दोलन, सामाजिक सञ्जालमा पोखिएका आक्रोश र न्यायको आवाजमा समर्थन जनाउनु भएको आशलाग्दा राजनीतिज्ञ, तर अहिले लेखक स्वयं गृहमन्त्री हुँदा पनि निर्मलाको फाइल अलपत्र छ । गृहमन्त्री भएको वर्षदिनसम्म पनि यो घटनामा परिणाम ? शून्य ।
घटना भएपछि देशभर आक्रोश बढ्यो । सडकमा आगो बल्यो, सामाजिक सञ्जाल तात्यो र सदनमा न्यायको स्वर गुञ्जियो । तर निर्मलाको न्यायका लागि उर्लिएको जनसागर लाठीचार्ज, अश्रुग्यास र झुटा आश्वासनमा सुक्यो । घटनालाई राजनीतीकरण गरेर अनुसन्धान प्रभावित पारिएको धेरैको बुझाइ छ ।
यो घटना निर्मलाको न्यायको सवाल मात्रै होइन, यो त सम्पूर्ण नेपाली छोरीहरूको सुरक्षा र सम्मानको प्रश्न पनि हो । निर्मलाको जबर्जस्ती करणीपछि हत्या प्रकरणमा कुनै सरकार चुकेन, आश्वासन दिन । तर हरेक सरकार चुके, न्याय र निष्कर्ष दिन ।