काठमाडौं । इङ्ल्यान्डका जो रुट टेस्ट क्रिकेटको इतिहासमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । भारतविरुद्ध ओल्ड ट्राफोर्डमा भइरहेको चौथो टेस्टका क्रममा उनले अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको कीर्तिमान पार गरेका हुन् ।
भारत र इङ्ल्यान्डबीच जारी चौथो टेस्टको तेस्रो दिनको खेल सुरु हुँदा जो रुटको कुल टेस्ट रन १३ हजार २९१ थियो । पोन्टिङको १३ हजार ३७८ रन पार गर्न उनलाई ३१ रन चाहिएको थियो । त्यो उनले सहजै प्राप्त गरे । उनले तीन बलको बीचमा राहुल द्रविड, ज्याक कालिस र पोन्टिङ तीन जना दिग्गज खेलाडीको कीर्तिमान उछिनेर इतिहास रचे ।
त्यसपछि उनले उत्कृष्ट ब्याटिङ गर्दै १५० रन बनाए । त्यससँगै रुटको कुल रन संख्या १३ हजार ५०१ पुगेको छ । अब टेस्ट क्रिकेटमा उनीभन्दा अगाडि केवल एक खेलाडी बाँकी छन् —भारतका सचिन तेन्दुलकर । जसको नाममा १५ हजार ९२१ रन छ ।
रुटको करिअरको आँकडा साँच्चै नै प्रभावशाली छ । उनले अहिलेसम्म १५७ टेस्ट खेलेका छन्, ५० भन्दामाथिको औसतले रन बनाएका छन् र ३८ वटा टेस्ट शतक प्रहार गरेका छन् । उनी इङ्ल्यान्डको इतिहासमै सबैभन्दा धेरै टेस्ट रन बनाउने, सबैभन्दा धेरै शतक बनाउने र सबैभन्दा धेरै टेस्ट जिताउने कप्तान पनि हुन् ।
२०२१ यता उनले प्रति टेस्ट औसत ९३ रन बनाएका थिए । पछिल्ला १९ टेस्टमा त यो औसत १०१ पुगेको छ । यदि उनले यस्तै लय कायम राखे भने, २०२७ को अन्त्यसम्म खेलिने २६ टेस्टमा तेन्दुलकरको रेकर्ड पार गर्ने सम्भावना बलियो देखिन्छ ।
३४ वर्षीय रुट अझै उत्कृष्ट लयमा छन् । इङ्ल्यान्डको आगामी तालिकामा भारत, अस्ट्रेलिया, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका टेस्टहरू छन् । १३ हजार ५०१ रनसहित अब रुटको नजर इतिहासकै सबैभन्दा अग्लो शिखरमा छ—सचिन तेन्दुलकरको १५,९२१ रन ।