कांग्रेस र एमालेको निकै रस्साकस्सीपछि विश्व पौडेलको पोल्टामा गभर्नरको पद

जेष्ठ ६, २०८२ |सुदिल पोखरेल
कांग्रेस र एमालेको निकै रस्साकस्सीपछि विश्व पौडेलको पोल्टामा गभर्नरको पद

काठमाडौं । राष्ट्र बैंकले डेढ महिनापछि बल्ल गभर्नर पाएको छ । सत्ता गठबन्धनमै हलचल आउने गरी कांग्रेस र एमालेबीच रस्साकस्सी चलिरहँदा राष्ट्र बैंकको गभर्नर पद विश्व पौडेलको पोल्टामा परेको हो ।

नेपाल राष्ट्र बैंकमा गभर्नरको पद रिक्त हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्ने कानुनी व्यवस्था छ । तर, २०८१ चैत २४ गते महाप्रसाद अधिकारीको पदावधि सकिएपछि ४२ दिनसम्म सरकारको आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्ने राष्ट्र बैंकले गभर्नर पाएन । 

यो बीचमा गभर्नर हुने पात्र पनि फरक-फरक चर्चामा ल्याइए । कांग्रेस र एमालेले आ-आफ्नो तर्फबाट नाम प्रस्ताव गरे । तर, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पटक-पटकको छलफलपछि गभर्नर कांग्रेसले भनेको व्यक्तिलाई बनाउने सहमति जुट्यो । त्यही सहमति कार्यान्वयन गर्न निकै रस्साकस्सी चल्यो ।

चैत ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री विष्णु पौडेल नेतृत्वमा विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य रहेको तीन सदस्यीय गभर्नर सिफारिस समिति गठन भए पनि बैठक नै बस्न सकेन । बैठक नै बस्न नसकेको भन्दै वैशाख ९ गते भट्टराईले सिफारिस समितिको सदस्यबाट राजीनामा दिनुभयो । वैशाख १७ गते सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गर्‍यो । तर, गभर्नर कसलाई बनाउने भन्नेमा कांग्रेस र एमालेबीच कुरा नमिल्दा बैठक बस्नै सकेन ।

त्यसो त सुरुमा एमालेले डेपुटी गभर्नर निलम ढुंगानालाई प्रस्ताव गरेको थियो । तर, कांग्रेसले राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टको नाम अघि सार्‍यो । भट्टलाई राजीनामा गर्न लगाइयो । तर, प्रधानमन्त्री ओली सहमत हुनुभएन । भट्टको राजीनामा समेत कायम मुकायम गभर्नर ढुंगानाले स्वीकृत गर्नुभएन । यसले अप्ठ्यारो परेपछि कांग्रेसले गभर्नर सिफारिस समितिमै रहेका विश्व पौडेलको नाम अघि सार्‍यो । र वैशाख २६ गते पौडेललाई सिफारिस समितिबाट राजीनामा गर्न लगाइयो ।

वैशाख ३१ गते पोषराज पाण्डेलाई सिफारिस समितिमा नियुक्त गरियो । तर, कांग्रेसमा सक्रिय विश्व पौडेलको नाम विवादमा पर्न सक्ने भन्दै प्रधानमन्त्री ओली गभर्नर बनाउन अनिच्छुक देखिनुभयो । 

एमालेभित्रै कांग्रेसको पार्टी सदस्यलाई राष्ट्र बैंक सुम्पन लागेको भन्दै असन्तुष्टि पनि देखियो । तर, कांग्रेसले प्रधानमन्त्री ओलीको भूमिकामाथि प्रश्न उठाउँदै गठबन्धनमै गडबड आउनसक्ने संकेत देखाएपछि प्रधानमन्त्री ओलीले देउवासँग बारम्बार छलफल गर्नुभयो र अन्ततः विश्व पौडेललाई गभर्नर बनाउने सहमति जुट्यो ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।