
काठमाडौं । यस पटकको निर्वाचनका लागि धेरै मतदाता आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगिरहेका छन् ।
मतदातामा देखिएको उत्साहले यसपटक मतदान प्रक्रियामा सहभागी हुनेहरू बढ्ने निर्वाचन आयोगले बताएको छ । यसपालिको निर्वाचनमा १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता सहभागी हुने छन् । कुल मतदातामध्ये ९६ लाख ६३ हजार ३ सय ५८ पुरूष छन् भने ९२ लाख ४० हजार १ सय ३१ महिला छन् ।
देशभर १ सय ६५ सिटका लागि ६५ विभिन्न राजनीतिक दलका उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् । कुल उम्मेदवारमध्ये दलका २ हजार २ सय ६३ छन् भने १ हजार १ सय ४३ स्वतन्त्र उम्मेदवार छन् । यीमध्ये ३ हजार १७ पुरूष उम्मेदवार हुन् भने ३ सय ८८ जना मात्रै महिला उम्मेदवार रहेका छन् । अन्य समूहका उम्मेदरवार एक जना छन् ।
यीमध्ये ३४ दशमलव पाँच शुन्य प्रतिशत खस आर्य, २७ दशमलव तीन शुन्य प्रतिशत आदिवासी जनजाति, मधेशी २४ दशमलव आठ सात प्रतिशत, ६ दशमलव सात पाँच प्रतिशत दलित, मुस्लिम ३ दशमलव नौ-नौ प्रतिशत र थारू २ दशमलव पाँच आठ प्रतिशत छन् ।
देशभर सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको बागमती प्रदेशमा ३३ सिटका लागि ७ सय ३१ उम्मेदवार प्रतिस्पर्धामा छन् । यो प्रदेशमा ३६ लाख ८२ हजार ३ सय १० मतदाता छन् । निर्वाचन क्षेत्रका हिसाबले दोस्रो ठूलो प्रदेश मधेशमा ३२ सिटका लागि १ हजार २७ उम्मेदवार प्रतिस्पर्धामा छन् । यहाँ ३६ लाख ३६ हजार ४ सय १४ मतदाता छन् ।
यस्तै कोशीका २८ सिटमा ४ सय ९५ जना उम्मेदवारलाई ३५ लाख ७४ हजार ३ सय १० जना मतदाताले मत दिने छन् । २६ सिट रहेको लुम्बिनीमा ५ सय ८२ जना उम्मेदवार छन् । जहाँ ३३ लाख ८६ हजार ६ सय ८० जना मतदाता छन् । यता १८ सिटका लागि २ सय ३४ उम्मेदवार रहेको गण्डकी प्रदेशमा १८ लाख ७० हजार ६५ मतदाता छन् ।
१६ सिट रहेको सुदूरपश्चिममा २ सय ६ उम्मेदवार प्रतिस्पर्धामा छन् भने १७ लाख १६ हजार ६ सय ६० जना मतदाताले मताधिकार प्रयोग गर्दै छन् । यस्तै कर्णालीका १२ सिटमा १ सय ३१ जना उम्मेदवार प्रतिस्पर्धा गर्दा १० लाख ३७ हजार २ सय ५० मतदाताले मत हाल्न पाउँछन् ।
देशभर १० हजार ९ सय ६७ मतदानस्थल छन् । मतदान केन्द्र भने २३ हजार १ सय १२ वटा छन् ।