
काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका-११ स्थित पुरानो राम्चे चौर (स्टोन पार्क) क्षेत्रमा स्थानीय युवाहरूको सक्रियतामा बृहत् सरसफाइ तथा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ।
निर्वाचनको मौन अवधिलाई रचनात्मक रूपमा उपयोग गर्दै युवाहरूले पर्यटकीय तथा मनोरञ्जनात्मक सम्भावना बोकेको उक्त क्षेत्रलाई सफा, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित सामूहिक श्रमदान गरेका हुन्। लामो समयदेखि नियमित हेरचाह अभावमा झारपातले ढाकिएको र विभिन्न स्थानमा फोहोर थुप्रिएको स्टोन पार्क क्षेत्रमा करिब दर्जनौँ युवाहरूको सहभागितामा सरसफाइ गरिएको थियो।
अभियानका क्रममा प्लास्टिकजन्य फोहोर संकलन, झाडी सफा गर्ने, ढुंगाका संरचनाहरू वरिपरि व्यवस्थित बनाउने तथा पदमार्ग खुलाउने काम गरिएको सहभागीहरूले बताएका छन्। स्थानीय युवाहरूका अनुसार धुलिखेल आसपास घुम्न आउने आन्तरिक पर्यटकका लागि राम्चे चौर महत्वपूर्ण खुला स्थलका रूपमा चिनिन्छ।
प्राकृतिक सौन्दर्य, खुला वातावरण र ढुंगाका कलात्मक संरचनाका कारण यस क्षेत्रलाई ‘स्टोन पार्क’ भनेर चिनिँदै आएको छ। तर, संरक्षण अभावमा यसको आकर्षण घट्दै गइरहेको अवस्थामा युवाहरूको यो पहललाई सकारात्मक रूपमा हेरिएको छ।
अभियानमा सहभागी युवाहरूले मौन अवधिमा अनावश्यक बहस र राजनीतिक गतिविधिमा संलग्न हुनुको सट्टा समाजोपयोगी काममा जुट्नु उपयुक्त ठानेको बताएका छन्। “हामीले आफ्नो ठाउँ आफैं सफा राख्नुपर्छ भन्ने सन्देश दिन चाहेका हौं,” एक सहभागी युवाले भने।
सरसफाइपछि पार्क क्षेत्र थप खुला र आकर्षक देखिन थालेको स्थानीय बासिन्दाहरूले बताएका छन्। उनीहरूले यस्ता अभियानलाई निरन्तरता दिँदै सम्बन्धित निकायले समेत आवश्यक पूर्वाधार विकास, सूचना बोर्ड स्थापना, बस्ने स्थान व्यवस्थापन र नियमित हेरचाहमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
युवाहरूको सक्रियताले समुदायमा सकारात्मक सन्देश फैलिएको छ। स्थानीय स्तरमै सामूहिक सहकार्य र श्रमदानमार्फत सार्वजनिक स्थलको संरक्षण सम्भव रहेको उदाहरणका रूपमा यस अभियानलाई लिइएको छ। आगामी दिनमा पनि सामाजिक, वातावरणीय तथा पर्यटन प्रवर्द्धनसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्ने तयारी रहेको युवाहरूले जनाएका छन्।