दैजी छेला औद्योगिक क्षेत्र पाँच वर्षदेखि अलपत्र, ९ अर्बको योजना कागजमै सीमित

फाल्गुन २०, २०८२ |हरिश्चन्द्र बाग
दैजी छेला औद्योगिक क्षेत्र पाँच वर्षदेखि अलपत्र, ९ अर्बको योजना कागजमै सीमित

कञ्चनपुर । कञ्चनपुरको वेदकोटमा प्रस्तावित दैजी छेला औद्योगिक क्षेत्र करिब तीन दशकदेखि चर्चा चलेर पाँच वर्षअघि शिलान्यास भयो । 

तर, अझैसम्म निर्माण कार्य अघि बढ्न सकेको छैन । करिब नौ सय बिघा क्षेत्रफल, ९ अर्ब रूपैयाँ लागत अनुमान र २२ हजार रोजगारीको अपेक्षा गरिए पनि वन फँडानी र प्रक्रियागत जटिलताका कारण योजना कागजमै सीमित छ ।

२०५२ सालदेखि बहसमा आएको, २०७२ सालमा मन्त्रिपरिषद्ले निर्णय गरेको, २०७७ सालमा शिलान्यास गरिएको क्षेत्र, जुन अहिले अन्योल र झाडीले भरिएको छ । यो क्षेत्र हो, दैजी छेला औद्योगिक क्षेत्र । आजभन्दा ठिक पाँच वर्ष अगाडि दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास भएको थियो । तर, पाँच वर्ष बितिसक्दा समेत अहिलेसम्म यसमा ठोस प्रगति भएको देखिँदैन । स्तम्भमा हेर्नुस्, यो पत्र उप्किन थालेको छ । 

यहाँका नागरिकहरू दैजी छेला औद्योगिक क्षेत्र कहिले बन्ला भन्ने पर्खाइमा बस्नु भएको छ । करिब नौ सय बिघा जमिन, करिब ९ अर्ब रूपैयाँको लागत अनुमान र २२ हजार जनालाई रोजगारीको सपना । तर प्रश्न उहीँ छ, सपना कहिले यथार्थ बन्छ ? ठूलो लगानी र रोजगारीको सपना देखाइए पनि स्थानीयले अझै त्यसको प्रत्यक्ष अनुभूति गर्न सक्नु भएको छैन ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले तयार पारेको पहिलो प्रतिवेदनमा करिब २५ हजार ९ सय ७८ रूख रहेको उल्लेख थियो । तर, पछिल्लो लगतअनुसार ४३ हजारभन्दा बढी रूखको विवरण सङ्कलन भएको छ । यही तथ्याङ्कको फरक, वन फडानी स्वीकृतिको प्रक्रिया र वातावरणीय प्रभाव मूल्याङ्कनमा देखिएको ढिलाइका कारण आयोजना अघि बढ्न सकेको छैन । 

डिभिजन वन कार्यालय कञ्चनपुरले आवश्यक प्रक्रिया सहितका कागजात पठाएको एक वर्ष पूरा भइसकेको छ । तर, पछिल्लो एक वर्षमा कुनै ठोस प्रगति भने देखिँदैन । कञ्चनपुरमा प्रस्ताव गरिएका दैजी छेला औद्योगिक क्षेत्र र सुख्खा बन्दरगाह निर्माणसँगै यहाँको आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा छ । तर, त्यत्तिले मात्रै पुग्दैन । 

यसका लागि यहाँको सडक सञ्जाल र अन्य पूर्वाधारहरूको विकास पनि त्यत्तिकै आवश्यक छ । स्थानीय बासिन्दाहरूको आशा छ, यो दैजी छेला औद्योगिक क्षेत्र बन्यो भने यहाँ हामीले रोजगारी पाउँछौँ, हाम्रा छोराछोरी पढेलेखेका छन् । यहीँ केही रोजगारी पाउँछन् ।


Image

हरिश्चन्द्र बाग

बाग कान्तिपुर टेलिभिजनका कञ्चनपुर संवाददाता हुन् ।