
काठमाडौं । श्रीलंकाको तटनजिकै हिन्द महासागरमा इरानी जहाजमाथि भएको आक्रमणमा १ सय ४० जना बेपत्ता भएका छन् ।
श्रीलंकाको जलसेना तथा रक्षा मन्त्रालयका अनुसार इरानको आइरिस डेना जहाज श्रीलंकाको तटीय क्षेत्रमा डुबेको हो । त्यसक्रममा श्रीलंकाली जलसेनाले ३२ जनाको उद्दार गरेको छ । वाशिङटनमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले अमेरिकी पनडुब्बीको आक्रमणबाट इरानी युद्धपोत डुबेको बताउनुभएको छ ।
यसैबीच अमेरिका तथा इजरायलको आक्रमणमा इरानमा मृत्यु हुनेको संख्या ११ सय नाघेको छ । इरानको सरकारी समाचार समिति तस्मिन न्युज एजेन्सीले पाँच दिनको अवधिमा ११ सय ४५ जनाको मृत्यु भएको जनाएको हो । राजधानी तेहरानसहित विभिन्न क्षेत्रमा इजरायल र अमेरिकाले आक्रमण जारी राखेका छन् ।
इजरायलले लेबनानमा पनि आक्रमण जारी राख्दै दक्षिण बेरूतका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। यसैगरी इरानले पनि पश्चिम एसियाली मुलुकलक्षित आक्रमणलाई जारी राखेको छ । इरानले कतारको अल-उदाइदस्थित सैन्य केन्द्रमा मिसाइल प्रहार गरेको छ। यस्तै, दुबईको अमेरिकी महावाणिज्य दूतावासमा पनि आक्रमण भएको छ ।