काठमाडौं । पछिल्ला पाँच वर्षमा नेपाली पुरूष फुटबलले तीन विदेशीसहित ६ फरक प्रशिक्षक पाएको छ ।
तर, अपेक्षित सफलता भने हात परेको छैन । त्यसमाथि खेलाडीको विदेशगमन र पूर्वाधारको दुरावस्थाले नेपाली फुटबललाई केही वर्षयता नराम्ररी सताइरहेको छ । यस्तोमा आशाको नयाँ किरण छर्न आउन लागेका छन् इटालियन प्रशिक्षक गुग्लिएल्मो एरेना ।
विभिन्न राष्ट्र र क्लबहरूमा प्रशिक्षण गरिसकेका एरेना विविध खेल रणनीति अपनाउन माहिर मानिन्छन् । एरेनाको अन्य बलियो पक्ष के हुन् ? नेपाली फुटबलको कमजोरीलाई एरेनाको क्षमताले कतिको परिपूरण गर्नसक्ला त ? चार महिनादेखि रिक्त नेपाली राष्ट्रिय पुरूष फुटबल टोलीको प्रशिक्षकमा इटालीका गुग्लिएल्मो एरेना आउने लगभग निश्चित छ ।
योसँगै करिब अढाइ वर्षपछि नेपाली फुटबलमा पुनः युरोपेली प्रशिक्षकको पुनरागमन हुने भएको छ । एएफसी प्रोलाइसेन्स प्राप्त वर्षीय एरेनालाई ‘ट्याक्टिकल नोम्याड’ अर्थात् आवश्यकताअनुसार फरक-फरक रणनीति अपनाउन सक्ने प्रशिक्षकका रूपमा चिनिन्छ ।
चार महादेशका विभिन्न राष्ट्र र फुटबल क्लबहरूमा आफ्नो छाप छोडिसकेका एरेनाले नेपाली टोलीको जिम्मेवारी सम्हालेमा युरोपेली रक्षात्मक अनुशासन भित्रिन सक्छ । उनी विशेष गरी ४-२-३-१ को फर्मेसन प्रयोग गर्न रूचाउँछन् । यो फर्मेसन साथै, उनले रक्षात्मक अवस्थामा प्रयोग गर्ने रेस्ट डिफेन्स र स्यान्डविच मार्किङजस्ता ट्याक्टिक्सले टोलीको रक्षापंक्तिलाई सुदृढ पार्दै आक्रामक काउन्टर अट्याकका लागि समेत तयार पार्छ ।
जुन नेपाली टोलीको अहिलेको आवश्यकता पनि हो । एरेनाको ट्रेनिङ द ब्रेन खेलदर्शनले नेपाली खेलाडीहरूमा मैदानमा छिटो निर्णय लिने क्षमता निखार्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ । ओमानको फन्जा स्पोर्ट्स क्लबको २३ वर्षको उपाधि खडेरी तोडेर सुल्तान काबोस कप जिताएका एरेनाले नेपालको पनि उपाधि खडेरी तोड्ने सपना साकार बनाउन सक्छन् ।
एरेनासँग लाओसको राष्ट्रिय र यू-२३ टोली सम्हालेको अनुभव छ, जसका कारण उनी दक्षिण एसियाली र समग्र एसियाली फुटबलको स्तर र चुनौतीहरूबारे परिचित नै छन् । अफ्रिकामा नाइजर र बुर्किना फासोजस्ता देशहरूमा लिग जिताइसकेका एरेना सीमित स्रोत भएको अवस्थामा पनि उत्कृष्ट नतिजा निकाल्न माहिर मानिन्छन् ।
प्रशिक्षक फिलिप ट्राउसरको सहायक भएर समेत काम गरिसकेका एरेनाको आगमनले नेपाली राष्ट्रिय टोलीमा नयाँ रणनीति मात्र होइन, विजेता मानसिकताको पनि विकास हुने अपेक्षा गर्न सकिन्छ । पछिल्ला पाँच वर्षमा नेपाली पुरूष फुटबलले ६ फरक प्रशिक्षक पाएको छ ।
जसमा तीन प्रशिक्षक त विदेशी नै थिए । तर, कुवेती प्रशिक्षक अब्दुल्लाह अल-मुताइरीबाहेक अन्यको कार्यकाल औसत रह्यो । पछिल्ला प्रशिक्षक म्याट रसबाट पनि नेपाली टोलीले अपेक्षित सफलता हात पार्न सकेन । उनले ७ खेलमा नेतृत्व गरे पनि २०२७ को एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने र साफ च्याम्पियनसिप जित्ने लक्ष्य अधुरै रह्यो ।
पछिल्ला वर्षहरूमा नेपाली फुटबलमा भविष्य नदेखेर चर्चित खेलाडीहरू नै विदेशको बाटो रोजिरहेका छन् । जसले गर्दा प्रशिक्षकहरूलाई समेत स्थिर टोली निर्माण गर्न कठिन भइरहेको छ । साथै, दशरथ रंगशालाको दुरावस्था र पूर्वाधारको अभावले गर्दा नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेलहरू पनि तटस्थ स्थानमा खेल्नुपरिरहेको छ । यस्तोमा टोलीको जिम्मेवारी सम्हाल्न आउन लागेका एरेनासामु चुनौती र अवसर दुवै देखिन्छ ।