सप्तरी-२ मा सीके राउतको शक्ति प्रदर्शन

फाल्गुन १६, २०८२ |आरएन विश्वास
सप्तरी-२ मा सीके राउतको शक्ति प्रदर्शन

सप्तरी । सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले शनिबार आफ्नो क्षेत्रभरि शक्ति प्रदर्शन गर्नुभएको छ।

राजविराजस्थित रंगशालाबाट सुरू भएको मोटरसाइकल र्‍यालीमा उल्लेख्य संख्यामा नेता-कार्यकर्ताहरुकाे सहभागिता थियाे । र्‍याली राजविराज हुँदै क्षेत्र नम्बर २ का विभिन्न स्थान परिक्रमा गरी दशनचोकमा पुगेर कोण सभामा परिणत भएको थियो।

सभालाई सम्बोधन गर्दै डा. राउतले साढे दुई वर्षको छोटो कार्यकालमै सप्तरीलाई वैज्ञानिक युगतर्फ अघि बढाएको दाबी गर्नुभयो। उहाँले जिल्लालाई एआई प्रविधिमैत्री बनाउने लक्ष्यसहित सप्तरीमै स्पेस सेन्टर निर्माणको काम अगाडि बढाइएको बताउनुभयो। बाँकी रहेका विकासका कामलाई पूर्णता दिन मतदातासँग पुनः समर्थन माग्नुभयो।

त्यसैगरी जनमत पार्टीका नेता महेश यादवले गणतन्त्र र संघीयतामाथि खतरा रहेको उल्लेख गर्दै संघीयता जोगाउन जनमत पार्टीलाई निर्वाचित गर्न आग्रह गर्नुभयो। सप्तरी क्षेत्र नम्बर २ मा कुल ३४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। यस क्षेत्रमा १ लाख ५ हजार ९ सय २ जना मतदाता रहेका छन्। 

आउँदो १९ गतेबाट सुरू हुने मौन अवधिलाई मध्यनजर गर्दै उम्मेदवारहरूले घरदैलो र सभा–र्‍यालीलाई तीव्रता दिएका छन्।


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।