
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रूपमा उदय हुने बताउनुभएको छ ।
सोमबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो दाबी गर्नुभएको हो । पार्टी निर्वाचन परिचालन समितिका संयोजक समेत रहनुभएका उपसभापति शर्माले दोस्रो ठूलो दलभन्दा फराकिलो अन्तरले आफ्नो पार्टी पहिलो राजनीतिक शक्ति बन्ने ठोकुवा गर्नुभयो ।
उहाँले प्रत्यक्ष र समानुपातिक दुवैमा नेपाली कांग्रेस पहिलो शक्ति बन्ने आकलन पनि आफूहरूले गरेको बताउनु भयो । उपसभापति शर्माले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि योगदान पुर्याउन पनि सबै राजनीतिक दल र सम्वद्ध सबै पक्षको योगदान आवश्यक रहेको पनि बताउनु भयो ।