सत्ता गठबन्धनमा किन बढ्दैछ खटपट, के हो समस्या ?

जेष्ठ ४, २०८२ |दीपक आचार्य
सत्ता गठबन्धनमा किन बढ्दैछ खटपट, के हो समस्या ?

काठमाडौं । 'सामान्य अवस्थाले देश अगाडि बढ्न नसक्ने’ निष्कर्ष निकाल्दै गठन भएको दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धनलाई नै 'सामान्य अवस्थामा अघि बढ्न' मुस्किल परिरहेको देखिएको छ । 

गठबन्धनको सुरुदेखि नै देखिएका मनमुटाव गभर्नर नियुक्ति प्रकरणले झन् झाँगिदै गएको स्थिति छ । खासगरी, सरकारले भनेजस्तो लय लिन नसकेको, सरकार गठन गर्दा तय गरिएको मूल मुद्दामा ध्यान नदिएको जस्ता विषयमा गठबन्धनभित्र पटक-पटक असन्तुष्टि स्पष्ट देखिँदै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको बहुमत नभई काम गर्न सकिँदैन भन्नुभएको छ । यसले प्रश्न उठाउँछ, के अहिले बलियो गठबन्धन भएर पनि उहाँलाई काम गर्न अप्ठ्यारो परिरहेको हो ? 

पछिल्लो समय ओली नेतृत्वको सरकारप्रति कांग्रेका पदाधिकारीहरुका कटाक्ष र शनिबार संसदीय दलमा भएको छलफल हेर्ने हो भने उहाँलाई कांग्रेसबाटै काम गर्न अप्ठ्यारो परिरहेको भन्ने कुरामा दुईमत छैन । प्रधानमन्त्रीको शासन सञ्चालन शैलीमा नेपाली कांग्रेसभित्र गम्भीर प्रश्न छ, तर सभापति शेरबहादुर देउवा चुपचाप बसेकाले यसले कुनै निकास पाउन सकेको छैन ।

सरकार गठनका बेला गरिएको सहमति कार्यान्वयनमा ध्यान नदिइएको भन्दै कांग्रेसभित्र सरकारप्रति असन्तुष्टि छ । संविधान संशोधन, सुशासन कायम र जनगुनासो सम्वोधन गर्ने उद्देश्यसहित सरकार गठन गरिए पनि त्यसअनुसार लय लिन नसकेको कांग्रेसका शीर्ष नेताहरुले नै बताउँदै आएका छन् । 

सदनमा नीति तथा कार्यक्रममाथिको छलफलमा होस् वा बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफल, पदाधिकारी तहले सहभागी नभएरै असन्तुष्टि व्यक्त गरिसकेको छ । यसैगरी, पछिल्लो समय राष्ट्र बैंकको गर्भनर नियुक्ति लगायतका विषयमा एमालेको भूमिकामाथि कांग्रेसले आंशका नै व्यक्त गरिरहेको छ । 

सरकारलाई सफल बनाउन भन्दै गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रमै रहेका कांग्रेस शीर्ष नेताहरुले असन्तुष्टि व्यक्त गर्ने, बैठकमा सहभागी नहुने स्थिति बनिरहेको छ । जसले गर्दा कतिपय नेताहरुले त सरकारले गति नफेर्दा विकल्प सोच्नुपर्ने बन्न सक्छ भन्ने टिप्पणीसमेत गर्न थालेका छन् ।

महत्वाकांक्षी उद्देश्यसहित गठन भएको दुई ठुला दलको सरकारमा नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणबाट दरार पैदा भएको हो । तर, सरकारप्रतिको असन्तुष्टिलाई कांग्रेस सभापति देउवा थामथुम पार्ने प्रयासमै हुनुहुन्छ । सुन्दा सकारात्मक तर प्रस्तुति व्यंगात्मक रहेको १४ महिनापछि देउवालाई प्रधानमन्त्री पद किस्तीमा राखेर बुझाउने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले समेत नयाँ विवाद सिर्जना गरेको छ । पार्टीभित्र सरकारलाई हेर्ने दृष्टिकोणमा फरकपन देखिँदै गए पनि यसले अहिले नै गठबन्धनलाई असर पार्ने स्थिति नभएको देउवानिकट नेताहरुको दाबी छ ।

खासगरी कांग्रेसभित्र कुलमान घिसिङ प्रकरण तथा ऊर्जा राज्यमन्त्रीलाई हटाएको विषय, मन्त्रीहरुलाई प्रधानमन्त्रीले आवश्यकताभन्दा बढी नियन्त्रणमा राख्न खोजेको, विरोधका बीच अध्यादेशबाट कानुन संशोधन गर्दा समेत सेवाप्रवाहमा ध्यान नदिएको, जनगुनासो सम्बोधन गर्न ध्यान नदिएको लगायतका विषयमा विरोध गरिरहेका छन् ।

यी सबै विवादका बारेमा जानकार रहेको एमाले कांग्रेस सभापतिको मौनताका कारण गठबन्धनमा तत्काल कुनै असर नपर्ने भनेर ढुक्क छ ।

अंकगणितमा बलियो वर्तमान सरकारमा दुई शीर्ष नेताबीच सहमति कायम रहेसम्म अथवा अविश्वास उत्पन्न नभएसम्म कुनै समस्या आउँदैन । तर, दिनहुँको खिचलो र फरकफरक विषयमा बढ्दो शंकाले सरकार सञ्चालन र डेलिभरीमा लगातार असर पारिरहेको छ ।


Image

दीपक आचार्य

आचार्य कान्तिपुर टेलिभिजनमा राजनीतिक ब्युरोमा कार्यरत छन् ।