
पाेखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका छन्।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीलाई बुधबार सपथ गराउनु भएको हो । गण्डकीमा नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित सरकार छ । मुख्यमन्त्री एवं कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीबीच मन्त्रिपरिषद् हेरफेर गर्ने सहमति भएसँगै बुधबार नयाँ मन्त्रीहरू नियुक्त भएका हुन्।
मुख्यमन्त्री कार्यालयका अनुसार नेपाली कांग्रेसबाट जित शेरचन आर्थिक मामिला मन्त्री, नन्दप्रसाद न्यौपाने उर्जा तथा खानेपानी मन्त्री, रेखा गुरुङ सामाजिक विकास मन्त्री र नम्दु गुरुङ वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको छ । यसैगरी एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त हुनु भएको छ ।
उहाँहरुलाई नेपाल पर्यटन बोर्डको कार्यालयमा सपथ गराइएको हो। यसैबिच मन्त्री नपाएपछि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले राजीनामा दिनुभएको छ । बागलुङ जिल्ला क्षेत्र नम्बर २ ख बाट निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाउनु भएको हो ।
कुँवरले राजीनामाको बोधार्थ पार्टीका केन्द्रीय सभापति र प्रदेश संसदीय दलका नेतालाई दिनुभएको छ । उहाँले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागू हुने गरी दिएको उल्लेख गर्नुभएको छ।