‘टाइम’मा बालेन्द्र : नेपालको नयाँ नेतृत्वप्रति विश्वको चासो बढेको संकेत

वैशाख ३, २०८३ |कृपाल गौतम
‘टाइम’मा बालेन्द्र : नेपालको नयाँ नेतृत्वप्रति विश्वको चासो बढेको संकेत

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह प्रसिद्ध अमेरिकी म्यागेजिन टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा पर्नुभएको छ। अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी चिनफिङ, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु लगायतसँगै प्रधानमन्त्री शाहको नाम पर्दा वालेन्द्रका प्रशंसक खुसी भएका छन्। हुन पनि टाइमको सय प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल प्रधानमन्त्री शाह नेपालकै पहिलो व्यक्ति हुन्।

'बालेनको उदय दक्षिण एसियामा जडका रूपमा रहेको वंशवादी राजनीतिको स्पष्ट अस्वीकृति मात्र होइन, क्षेत्रीय सत्ता संरचनामा तरंग पैदा गरेको युवाहरूको लहर पनि हो।' टाइममा नेपालका प्रधानमन्त्री वालेन्द्र शाहका बारेमा सम्पादक एट लार्ज चार्ली क्याम्बेलले लेखेको वाक्य हो यो। टाइमले विश्वमा परिवर्तन ल्याउने प्रभावका आधारमा व्यक्तिहरु छनोट गर्छ। त्यसैले यो सूचीमा पर्नु सम्मानमात्र होइन, विश्वस्तरको पहिचान पनि हो । बालेन्द्र टाइमका लागि यसअघि पनि रुचिका पात्र हुन्। २०२३ मा पनि टाइमले विश्वका १ सय नेक्स्ट इमर्जिङ लिडर अर्थात् उदीयमान नेताहरुको सूचीमा बालेन्द्रलाई राखेको थियो। त्यतिबेला बालेन्द्र काठमाडौँ महानगरको मेयर हुनुहुन्थ्यो।

टाइमले सार्वजनिक गर्ने उदीयमान नेताहरुको यस्तो सूचीमा बालेन्द्रबाहेक अन्य नेपाली पनि यसअघि परेका छन्। पारलैंगिक महिला अधिकारकर्मी रुक्साना कपाली पनि २०२४ को टाइम हन्ड्रेड नेक्स्ट २०२४ मा पर्न सफल हुनुभएको थियो । फोर्ब्स, बीबीसीजस्ता मिडियाले निकाल्ने उस्तै खालका सूचीमा पनि नेपाली परेका छन्। तर टाइमले निकालेको सय प्रभावशालीहरुको सूचीमा नेपाली नेता परेको भने यो पहिलोपटक हो।

टाइममा बालेन्द्र शाह यसरी फिचर हुनुलाई नेपालको नयाँ नेतृत्वप्रति विश्वको बढ्दो चासोको संकेतका रूपमा पनि हेरिएको छ। टाइमले यसरी फिचर गर्दा कतिपयको छवि ग्लोबल व्यक्तित्वका रूपमा समेत स्थापित हुने गरेको देखिन्छ।

हरेक वर्ष टाइमले राजनीति, प्रविधि, कला, खेलकुद र सामाजिक प्रभावका आधारमा विश्वभरबाट एक सय व्यक्ति छनोट गर्छ । यस सूचीमा पर्ने व्यक्तिहरूको अन्तिम छनोट टाइमका सम्पादकहरूले गर्छन्। नामहरू भने टाइम सयका पूर्व सदस्यहरू र म्यागेजीनका अन्तर्राष्ट्रिय लेखकहरूको सिफारिसबाट आउँछन्। तर एउटा अपवाद हुन्छ, सूची सार्वजनिक हुनुभन्दा केही दिनअघि पाठक मत सर्वेक्षण गरिन्छ र एक जना सर्वसाधारणको मतबाट चयन गरिन्छन् ।

अमेरिकाको म्यानह्याटन शहरमा हरेक वर्ष भव्य समारोह हुन्छ, जहाँ यी सय प्रभावशाली व्यक्तिहरू सहभागी हुन्छन्। कार्यक्रमलाई केवल सम्मान समारोहमात्र नभई, विश्वकै चर्चित सामाजिक र फेसन कार्यक्रममध्ये एक मानिन्छ।

टाइमले सार्वजनिक गर्ने सूचीमा व्यक्तिको छविसँगै उसले पार्ने सकारात्मक र नकारात्मक दुबै खालको प्रभावलाई आधार मान्ने गरिएको छ। २००४ को सय प्रभावशालीको सूचीमा तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस र संयुक्त राष्ट्रसंघका तत्कालिन महासचिव कोफी अन्नानसँगै अल कायदाका नेता ओसामा विन लादेन र तत्कालिन उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ इल पनि परेका थिए।

यसपटक नेतृत्वबाहेकका विधामा कन्टेन्ट क्रिएटर मिस्टर बिस्ट, गुगलका सिइओ सुन्दर पिचाइ, भारतीय स्टार रनविर कपुरजस्ता व्यक्तित्व पनि परेका छन्।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।