
काठमाडौं । नेपाली कांग्रेसभित्र गुटगत विवाद बढ्दै जाँदा केन्द्रीय अनुशासन समितिको बैठक जारी छ ।
निःवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि अघि बढाएपछि स्पष्टीकरण लिने विषयमा छलफल गर्न अनुशासन समितिको बैठक बोलाइएको हो ।
पार्टी मुख्यालय सानेपामा जारी बैठकमा तत्कालीन कार्यवाहक सभापति समेत रहनुभएका खड्कालाई स्पष्टीकरण सोध्ने विषयमा पनि छलफल हुने एक सदस्यले जानकारी दिए । नेता खड्काले यसअघि पनि पार्टीमा अनधिकृत रुपमा वक्तव्य जारी गरेको भन्दै सचेत गराइएको थियो ।
खड्काले गत सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाउनुभएको थियो । १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।
त्यसअघि खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गर्नुभएको थियो । त्यसपछि उहाँले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गर्नुभएको थियो ।