
काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद झन् चर्किंदै गएको छ ।
विवाद एक पक्षले अर्कोलाई अस्वीकार गर्नेदेखि स्पष्टीकरण सोध्नेसम्मको स्थितिमा पुगेको छ । अनुशासन समितिको बैठकले पूर्वउपसभापति पूर्णबहादुर स्पष्टीकरण सोध्दा खडकाले त्यसलाई अवैधानिक दाबी गर्नुभएको छ । गुटगत विवादले कांग्रेस विभाजन हुने खतरा बढेको छ ।
कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरूङको संयोजकत्वमा बुधबार ललितपुरस्थित पार्टी कार्यालयमा बसेको बैठकले खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको ठहर गर्दै स्पष्टीकरण माग गर्ने निर्णय गरेको हो ।
बैठकले नक्कली लेटरप्याड बनाएर प्रयोग गरेको र यसअघि नै खड्कालाई सचेत गराइसकेको उल्लेख गर्दै सात दिनभित्र स्पष्टीकरण दिन भनेको हो । खड्काले गत चैत १४ र ३० गते नक्कली लेटरप्याड प्रयोग गरी आफू पार्टीको जिम्मेवारीमा रहेको दाबी गर्दै प्रेस विज्ञप्ति जारी गरेपछि त्यसबारे स्पष्टीकरण सोधिएको छ ।
१४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गर्नुभएको थियो । त्यसपछि उहाँले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफलसमेत गर्नुभएको थियो ।
पूर्वउपसभापति खड्काले भने स्पष्टीकरण हास्यास्पद र अवैध भएको दाबी गर्नुभयो । यसैबीच, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा पार्टी सदस्यहरूले अनुशासन उल्लंघन गरेका घटनाबारे उजुरी दिने समयसीमा बढाइएको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले असन्तुष्ट पक्षसँग छलफल र संवाद गरी १५औँ महाधिवेशनको वातारण बनाउन सभापति गगन थापालाई जिम्मा दिएको छ ।
संस्थापन पक्षले एकैदिन स्पष्टीकरण सोध्ने र संवाद गर्ने निर्णय गरेको छ । संस्थापन इतर पक्षसँग वार्ता र संवादबाट विवाद समाधान गर्ने भन्दापनि कारबाहीको डन्डा चलाउने रणनीतिमा संस्थापन पक्ष छ । यता खड्का पक्ष भने विशेष महाधिवेशनलाई नस्वीकार्ने र सर्वोच्चको फैसलापछि मात्रै टुङ्गोमा पुग्ने बताइरहेको छ ।
शेखर कोइराला पक्ष भने दुवै समूहलाई मिलाउन समिति नै बनाएर प्रयासरत छ, तर संस्थापन पक्षसँग भने संवाद हुन सकेको छैन ।