
काठमाडौं । नेपाली कांग्रेस- नेकपा (एमाले) गठबन्धनमा बनेको गण्डकी प्रदेश सरकारमा मन्त्रीहरूको सेट नै परिवर्तन गरिएको छ।
कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको नाै सदस्यीय मन्त्रिपरिषद्मा सबै मन्त्रीलाई फिर्ता बोलाएर बुधबार नयाँ मन्त्रीहरू नियुक्त गरी सपथ गराइएको हो । नवनियुक्त आठ मन्त्रीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरूमा नेपाली कांग्रेसका तर्फबाट जित शेरचनलाई आर्थिक मामिला, नन्दप्रसाद न्यौपानेलाई ऊर्जा, जलस्रोत तथा खानेपानी, नम्डु गुरुङलाई सामाजिक विकास, युवा तथा खेलकुद तथा रेखा गुरुङलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसैगरी एमालेको तर्फबाट गोविन्दबहादुर नेपालीलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाललाई उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डेलाई कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्कीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्रीमण्डलमा नेपाली कांग्रेसको तर्फबाट पाँच र नेकपा एमालेका चार जना मन्त्री छन। गठबन्धनअनुसार नेपाल समाजवादी पार्टीलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय दिइएको थियो । तर, मन्त्री बनेका फणिन्द्र देवकोटाले जेन-जी आन्दोलनपछि राजीनामा दिएकाले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आफैंले सम्हाल्दै आउनुभएको थियो ।
यसैबिच मन्त्री नपाएपछि नेपाली कांग्रेसका प्रदेशसभा सदस्य द्रोर्णकुमार कुँवरले राजीनामा दिनुभएको छ । बागलुङ जिल्ला क्षेत्र नम्बर २ ख बाट निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाउनु भएको हो ।
कुँवरले राजीनामाको बोधार्थ पार्टीका केन्द्रीय सभापति र प्रदेश संसदीय दलका नेतालाई दिनुभएको छ । उहाँले आफ्नो राजीनामा वैशाख २ गतेदेखि लागू हुने गरी दिएको उल्लेख गर्नुभएको छ।