
काठमाडौँ । १२ वटा सहकारी समस्याग्रस्त घोषणा गरिदिन माग गर्दै पीडितले सहकारी प्राधिकरणमा उजुरी दिएका छन् ।
लामो सयमदेखि सहकारी सञ्चालकहरु कारोबार रोकेर बेपत्ता रहेकाले बचतकर्ताको फसेको रकम फिर्ता गर्न समस्याग्रस्त घोषणा गर्न भन्दै प्राधिकरणमा १२ वटा सहकारीका पीडितले उजुरी दिएका हुन् । यसअघि गत साउन ६ गते १६ वटा सहकारीका पीडितले पनि ती सहकारी समस्याग्रस्त घोषणा गरिदिन माग गर्दै उजुरी हालेका थिए । जसअनुसार ती संस्थालाई समस्याग्रस्त घोषणा गर्न प्राधिकरणले प्रक्रिया अघि बढाइसकेको छ । समस्याग्रस्त घोषणाको प्रक्रियाका लागि प्राधिकरणले मन्त्रालयमा फाइल पठाएको भएसागै मन्त्रालयले प्राधिकरणसाग अन्य नियामक निकायको धारणा पनि मागेको छ । १६ वटाको प्रक्रिया अपुरो रहादै फेरि अन्य सहकारीका बचतकर्ताले समस्याग्रस्त घोषणाको माग गरेका हुन् ।
समस्याग्रस्त घोषणा गरिदिन माग गरेका अधिकांश सहकारी काठमाडौंमै सञ्चालनमा रहेका छन् भने काभ्रेको पशुपति बचत तथा ऋण सहकारी पनि समस्याग्रस्त घोषणा गरिदिन बचतकर्ताको माग छ । काठमाडौंको उत्तम, नमस्ते, क्लीयर, साना वित्त विकास र अभिलाषा बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा गरिदिन पीडितको माग छ ।
त्यस्तै अभिलाषा, उपहार, मयुर स्वीकार, एक्सचेन्ज सेभिङ एण्ड क्रेडिट, युनिफाइड, लसकुस बहुउद्देश्यीय सहकारी संस्था र लजगा बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा गरिदिन माग गरिएको छ । ४ सय २० वटा सहकारीका बचतकर्ताले रकम नपाएको गुनासो गर्ने गरेका छन् । जसमध्ये सरकारले अहिलेसम्म २३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ।