
काठमाडौँ । थाइल्यान्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन ठगीमा फसाइएका थप ४६ जना नेपालीको उद्धार गरेको जनाएको छ । दूतावासका अनुसार विभिन्न प्रलोभनमा पारेर कम्बोडिया पुर्याइएका नेपालीलाई त्यहाँको सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो ।
कम्बोडियामा केही नेपालीहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएका छन् भने केही भिसाबिना वा अवधि सकिएपछि पनि बसिरहेको पाइएको छ । कम्बोडिया सरकारले यस्ता गतिविधिमा संलग्नमाथि कडा कानुन लागू गरेको भन्दै दूतावासले सचेत गराएको छ । यस्तो कसुरमा न्यूनतम २ वर्षदेखि आजीवन कैद र ठूलो रकम जरिवाना हुन सक्ने जनाइएको छ ।
स्क्यामिङ केन्द्रमा काम गर्दा कम्पनीले राहदानी जफत गर्ने वा हराउने समस्या पनि देखिएको दूतावासले उल्लेख गरेको छ । यस्तो अवस्थामा नेपाल फर्किन एकतर्फी यात्रा अनुमति उपलब्ध गराइने व्यवस्था रहेको जानकारी दिइएको छ । पछिल्ला वर्षमा पर्यटक भिसामा कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको दूतावासले जनाएको छ । पछिल्लो ५ वर्षमा २१ हजार ९८ जना कम्बोडिया पुगेको देखिएको छ ।
दूतावासले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन र पर्यटक भिसामा गई आकर्षक आम्दानीको लोभमा गैरकानुनी काममा नफस्न आग्रह गरेको छ। साथै, आमसञ्चार माध्यम र नागरिक समाजलाई पनि यसबारे सचेतना फैलाउन अनुरोध गरिएको छ ।