कांग्रेसले पूर्णबहादुर खड्कालाई साेध्याे स्पष्टीकरण

वैशाख २, २०८३ |प्रकाश बम
कांग्रेसले पूर्णबहादुर खड्कालाई साेध्याे स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसभित्र गुटगत विवाद बढ्दै जाँदा पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधिएको छ ।

केन्द्रीय अनुशासन समितिको बुधबारको बैठकले खड्कालाई सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको हो। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि अघि बढाएपछि स्पष्टीकरण लिने निर्णय भएको हो । 

पार्टी मुख्यालय सानेपामा बसेको अनुशासन समितिको बैठकले तत्कालीन कार्यवाहक सभापति समेत रहनुभएका खड्काले पार्टी निती विपरीत विज्ञप्ति निकालेको आरोप लगाएको छ । नेता खड्काले यसअघि पनि पार्टीमा अनधिकृत रुपमा वक्तव्य जारी गरेको भन्दै सचेत गराइएको थियो । 

खड्काले गत सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाउनुभएको थियो । १८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । 

त्यसअघि खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गर्नुभएको थियो । त्यसपछि उहाँले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गर्नुभएको थियो ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।