काठमाडौं । सर्वोच्च अदालतका नाममा जारी भएको नक्कली पत्रले झण्डै पाँच घण्टा डिल्लीबजार कारागारमा थुनिएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई साँझ साढे ५ बजे रिहा गरिएको छ ।
दिउँसो १ बजेतिर काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नाउपा र जनमत पार्टी एकीकरणको कार्यक्रममा सामेल हुँदै गर्दा सादा पोशाकका प्रहरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई पक्राउ गरेपछिका करिब पाँच घण्टाले सर्वोच्च अदालतदेखि गृहप्रशासनमा मात्रै होइन, राजनीति तहमै हलचल मच्चायो ।
चौधरीलाई सर्वोच्च अदालतको दोश्रो पत्रकै आधारमा डिल्लीबजार कारागारबाट साँझ साढे ५ बजे रिहा गरिएको हो । चौधरीलाई बुवा लालबीर र पत्नी रञ्जिता श्रेष्ठको जिम्मा लगाइएको कारागार प्रशासनले जनाएको छ । चौधरीलाई लिन जनमत पार्टीका अध्यक्ष सिके राउत तथा नागरिक उन्मुक्ति पार्टीका नेता कार्यकर्ता डिल्लीबजार कारागार पुगेका थिए ।
जनमत र नागरिक उन्मुक्ति पार्टीले भने चौधरीको पक्राउ र रिहाइलाई सामान्य त्रुटि मात्रै नभएको र उच्च तहबाटै भएको षड्यन्त्र भनेका छन् । पार्टी एकता रोक्न र पहिचान पक्षधरलाई असफल बनाउन चौधरीलाई पक्राउको षड्यन्त्र गरिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले आरोप लगाउनु भयो ।
सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पठाउने आदेश लिएर प्रहरीकहाँ पुगेपछि चौधरीलाई पक्राउ गरिएको थियो । पछि सर्वोच्चले नै अर्को पत्र लिएर चौधरीलाई छुटायो । चौधरीलाई पक्राउको पत्र तयार गर्ने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
२०७२ भदौ ५ गते टीकापुरमा भएको घटना प्रकरणमा चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो । तर, २०८० साल जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सरकारले दिएको आममाफीका आधारमा रेशम चौधरीलाई कारागारबाट रिहा गरिएको थियो ।