काठमाडौं । सत्ता गठबन्धन दलले सरकारलाई युवा लक्षित नीति तथा कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धन दलको बैठकले युवा पुस्तालाई आशा-भरोसा जगाउने खालका कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका हुन् ।
अर्थतन्त्र लयमा ल्याउन खर्च बढाउने क्षमतामा वृद्धि गर्ने र फजुल खालका संरचनालाई कटौती गर्नेखालका नीति तथा कार्यक्रम ल्याउन दलहरुले सरकारलाई सुझाव दिएका छन् । विगतका कार्यक्रमलाई पछ्याउने भन्दा पनि ब्रेक थ्रु गर्ने खालका नीति तथा कार्यक्रम ल्याउन सत्ता साझेदार दलले सरकारलाई सुझाव दिएको एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जनाउनु भयो ।
यस्तै गठबन्धन दलले बाहय सम्वन्धलाई सुढृद गर्ने, बसाइँसराइ रोक्ने गरी पहाड केन्द्रित रोजगारीका कार्यक्रम ल्याउनसमेत सुझाव दिएका छन् ।
यस्तै, लोकतन्त्रलाई थप सुदृढ गर्ने र विभिन्न कोणबाट भइरहेका हमला र आक्रमणको सामूहिक प्रतिवाद गर्नुपर्नेमा एक ठाउँमा उभिने निर्णय पनि दलहरुले गरेका छन् ।
बैठकमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, एमाले, जसपा, लोसपासहितका नेताहरु सहभागी थिए । बैठकमा सरकारलाई समर्थन गरेको दल जनमत र नागरिक उन्मुक्ति पार्टी भने सहभागी भएनन् ।