नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

वैशाख १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । 

नाउपा र जनमत पार्टी एकीकरणका लागि प्रज्ञा भवन पुगेका बेला चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । चौधरीलाई सादा पोशाकका प्रहरीले नियन्त्रणमा लिएपछि डिल्लीबजार कारागार लगिएको छ । 

सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चौधरीलाई पक्राउ गरिएकोमा विरोध गर्दै नाउपा र जनमत पार्टीबीच आजका लागि तय गरिएको एकीकरण कार्यक्रम स्थगित गरिएको छ । नाउपा र जनमत पार्टीबीच आज एकीकरण हुने भनिएपछि नेता कार्यकर्ताहरु प्रज्ञा भवनमा जम्मा भैसकेका थिए ।

चौधरी पक्राउ गरिएकोमा जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गर्नुभएको छ । नागरिक उन्मुक्ति र जनमतबीचको एकतालाई लिएर ठूला दलहरुले षड्यन्त्र गरिरहेको राउतले यसअघि नै सामाजिक सञ्जालमा लेख्नु भएको थियो । उहाँले आफूलाई ज्यान मार्ने धम्की आएको देखि रेशम चौधरीलाई पक्राउ गर्न सक्नेसम्मका कुरा उल्लेख गर्नु भएको थियो ।

२०७२ भदौ ५ गते टीकापुरमा भएको घटना प्रकरणमा चौधरीलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो। तर, २०८० जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले दिएको आममाफीका आधारमा चौधरीलाई डिल्लीबजार कारागारबाट रिहा गरिएको थियो ।

चौधरी प्रकाउको विरोधमा प्रज्ञा परिसरमा नाउपा र जनमतका नेता कार्यकर्ताले नारावाजी पनि गरेका छन् । पहिचानवादी शक्तिलाई एक ठाउँमा आउन नदिन रेशमलाई पक्राउ गरिएको जनमत पार्टीले दाबी गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.