पाकिस्तानी सूचनामन्त्री भन्छन्- भारतले पाकिस्तानमा ३६ घण्टाभित्रमा सैन्य कारबाही गर्नसक्ने सूचना पायौं

वैशाख १७, २०८२ |अन्तर्राष्ट्रिय ब्युरो
पाकिस्तानी सूचनामन्त्री भन्छन्- भारतले पाकिस्तानमा ३६ घण्टाभित्रमा सैन्य कारबाही गर्नसक्ने सूचना पायौं

काठमाडौं । पाकिस्तानले भारतले आगामी २४ देखि ३६ घण्टाभित्र आफ्नो मुलुकमाथि सैन्य कारवाही गर्न सक्ने विश्वस्त गुप्तचरी सूचनाले संकेत गरेको दाबी गरेको छ ।

पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले भारतीय समय अनुसार बुधवार विहानै ३ बजेर ९ मिनेटमा सामाजिक सञ्जाल एक्समा एक भिडियो पोष्ट गर्दै यस्तो दावी गर्नुभएको हो । 

तरारले कुनै पनि प्रकारको आक्रमणको निर्णायक जवाफ दिइने र यसले यो क्षेत्रमा निम्तिने कुनै पनि गम्भीर परिणामका लागि भारत पूर्णरुपमा जिम्मेवार हुने उल्लेख गर्नुभएको छ । तरारको उक्त बयानमाथि टिप्पणीका लागि गरिएको आग्रहको भारतीय विदेश मन्त्रालयले तत्काल कुनै प्रतिक्रिया नदिएको रोयटर्सले जनाएकोछ ।

यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, चीफ अफ डिफेन्स स्टाफ र तीनवटै सुरक्षा निकायका प्रमुखसँग भएको बैठकमा आतंकवादविरुद्धको निर्णायक लडाइँका लागि सेनालाई खुला छुट दिनुभएको भारतीय समाचार माध्यमले जनाएका छन् ।

यसअघि सोमवार रोयटर्ससँग कुरा गर्दै पाकिस्तानका रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले पनि भारतबाट तत्काल सैन्य अतिक्रमणको सम्भावना रहेको बताउनु भएको थियो ।

जम्मु कश्मिरको पहलगाममा २६ जना पर्यटकको ज्यान लिने गरी अप्रिल २२ मा भएको आतंककारी आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेको हो । भारतले उक्त आतंककारी आक्रमणका पछाडि पाकिस्तानको हात रहेको आरोप लगाउँदै आएको छ भने पाकिस्तानले भने तटस्थ जाँचका लागि तयार रहेको भन्दै उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र भारतीय विदेशमन्त्री एस जयशंकरसँग टेलिफोन वार्ता गरी दुवै देशबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्नुका साथै भिडन्तको स्थिति आउन नदिन आग्रह गर्नुभएको राष्ट्रसंघीय प्रवक्ताले जनाएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि चाँडै नै यस सम्बन्धमा दुवै देशका आफ्ना समकक्षीसँग टेलिफोन वार्ता गर्ने त्यहाँको विदेश मन्त्रालयलले जनाएको छ ।