राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा दुवैतर्फ आर्मीको विजयी सुरुवात, पुलिसले कर्णाली प्रदेशलाई हरायो

वैशाख १७, २०८२ |खेल ब्युरो
राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा दुवैतर्फ आर्मीको विजयी सुरुवात, पुलिसले कर्णाली प्रदेशलाई हरायो

काठमाडौं । राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगितामा आज भएको खेलमा पुरुष र महिला दुवैतर्फ आर्मी क्लबले जित हाँसिल गरेको छ । च्यासल रंगशालामा भएका दुवै खेलमा आर्मी विजयी भएको हो ।

आजको पहिलो खेलमा आर्मी क्लबले गण्डकी प्रदेशलाई ३ - ० गोलले हरायो । गण्डकीको राम्रो डिफेन्सका बाबजुद पनि आर्मीले तीन गोल गरेर खेल आफ्नो हातमा लिएको हो । यससँगै आर्मीले प्रतियोगितामा विजयी सुरुआत गर्‍यो ।

निर्धारित ६० मिनेटको खेलको पहिलो क्वार्टर गोलरहित बनेको थियो । तर, दोस्रो क्वार्टरको नवौं मिनेटमा प्रदीप राजवंशीले फिल्ड गोल गरेर आर्मीलाई अग्रता दिलाएका थिए । उनको प्रहार गोलकिपरको खुट्टामा डिफ्लेक्ट भएर पोस्टभित्र पुगेको थियो । 

तेस्रो क्वार्टरमा आर्मीले अर्को गोल थप्यो । सुटिङ सर्कल बाहिरबाट आएको बलमा काशीराज राईले गोल गरेका हुन् । तेस्रो क्वार्टरको आठौं मिनेटमा आर्मीका लागि देवसिंह धामीले पेनाल्टी कर्नरमा गोल गरेर खेललाई तीन शून्यमा समाप्त गरेको हुन् ।

पुरुषतर्फको आजको दोस्रो खेलमा नेपाल पुलिसले कर्णाली प्रदेशलाई ९ - ० को फराकिलो अन्तरले हरायो । पुलिसलाई जीत दिलाउने क्रममा निसान्त भारले दुई गोल गरे । पुलिसले सात फिल्ड गोल गरेको थियो भने एउटा पेनाल्टी कर्नर र एउटा पेनाल्टी स्ट्रोक गोल गरेको थियो ।

आजै भएको महिलातर्फको खेलमा आर्मीले मधेश प्रदेशलाई ७ - ० को फराकिलो अन्तरले हरायो । आर्मीका लागि सीमा खड्का, निलिमा पाण्डे र कमला चन्दले समान २-२ गोल गरे । आर्मीले पहिलो क्वार्टरमा नै ४ - ० को अग्रता बनाएको थियो । त्यो लय कायमा राख्दै आर्मीले जित निकालेको हो ।